रूपन्देही, २५ असोज – पार्टी संगठनका लागि गरेको योगदानका कारण एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई २०७४ सालमै प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । तर एमाले र माओवादीबीच तालमेल भयो । उनले संगठन निर्माण गरिरहेको क्षेत्र माओवादीलाई पर्यो । भट्टराई पार्टी राजनीतिमै केन्द्रित भए ।
प्रतिनिधिसभामा अवसर गुमाएका भट्टराई ६ महिनामै राष्ट्रिय सभा निर्वाचनमा विजयी पनि भए । चिट्ठाकै रुपमा ६ वर्षे कार्यकाल पर्यो; त्यसले उनलाई खुसी बनाउन सकेन । भट्टराईनिकट एक नेताका अनुसार राष्ट्रिय सभामा गए पनि उनले आफूलाई ३ वा ४ वर्षे कार्यकाल चाहेका थिए । किनभने त्यसपछि फेरि प्रतिनिधिसभामै जाने ‘हुटहुटी’ उनमा थियो ।
‘त्यही हुटहुटीका कारण उहाँले राष्ट्रिय सभामा भन्दा क्षेत्रको विकास र संगठन निर्माणमै समय दिनुभएको थियो,’ उनले भने, ‘यसपटक टिकट पाउने आशा उहाँमा ठूलै थियो ।’ यसपटक टिकट पाएर पनि उम्मेदवार बन्न नपाएपछि अहिले उनलाई पाएको पनि गुमेकोजस्तो भएको उनले बताए ।
लामो समयदेखि क्षेत्र नं. ५ मा केन्द्रित भएर संगठन निर्माण गरेका उनलाई स्थानीय, जिल्ला र प्रदेशले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन एकल सिफारिस गरिएको थियो । यो उनको आफ्नै क्षेत्र पनि हो । पार्टीबाट एकल सिफारिस भएकाले उनी यसपटक उम्मेदवार बन्नेमा ढुक्क थिए ।
तर पार्टीले समानुपातिकमा नदोहोर्याउने र राष्ट्रिय सभाका बहालवाला सांसदलाई पनि यसपटक उम्मेदवार नबनाउने मापदण्ड बनायो । उनी निरास बने । तर निरन्तर लविङ छोडेनन् । पार्टी अध्यक्ष केपी ओलीले भने क्षेत्र नं. ३ बाट सिफारिस भएका तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख र एमाले प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेलाई टिकट दिए ।
भट्टराई पुनः पार्टी महासचिव शंकर पोखरेलसँग पुगे । महासचिवको जोडबलपछि अध्यक्षलाईसमेत सहमत बनाएर भट्टराईले आइतबार टिकट र घिमिरेलाई भूलवस टिकट दिइएको भन्ने बेहोराको पत्र पनि पाए । टिकट पाएपछि राष्ट्रिय सभा पुगेर आइतबार नै राजीनामा बुझाएर निर्वाचन क्षेत्रमा पुग्न २ बजे काठमाडौं विमानस्थल पुगेका थिए । उनी विमानस्थलबाट भैरहवाका लागि प्लेनमा उडिरहेकै बेला घिमिरेले शनिबार नै प्राप्त गरेको पत्र लिएर उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगको कार्यालयमा कार्यकर्तासहित पुगिसकेका थिए । घिमिरेले साढे ३ बजे उम्मेदवारी दर्ता गर्दा भट्टराई दुई चिठ्ठी बोकेर भैरहवा उड्दै थिए ।
झण्डै साढे ३ बजे भैरहवा विमानस्थल उत्रिएका उनी हानिदै गैंडहवास्थित निर्वाचन आयोगको कार्यालय पुग्दा नै साढे ४ बजिसकेको थियो । पौने ५ बजे उनले उम्मेदवारी दर्ता गराए । एमालेका तर्फबाट यसअघि नै दर्ता भएको उम्मेदवारी बदर गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीकै हस्ताक्षरसहितको ‘भूलवस पर्न गएको’ भन्ने बेहोराको पत्र पनि बुझाए । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ को उपदफा ९ बमोजिम भट्टराईको उम्मेदवारी सोमबार खारेज गरिदियो ।
निर्देशिका अनुसार एउटै दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको अवस्थामा र एकभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएमा पहिलो मनोनयन पत्र दर्तालाई आधिकारीक हुने उल्लेख छ । निर्वाचन अधिकृत चिन्तामणि शर्माले घिमिरेको साढे ३ बजे र भट्टराईको पौने ५ बजे उम्मेदवारी दर्ता भएकाले निर्वाचन कानुन अनुसार घिमिरे नै आधिकारिक भएको बताए ।
आयोगको निर्णयसँगै भट्टराईको प्रतिनिधिसभाको यात्रामा यसपटक अर्को ठेस लाग्यो । संसदीय कार्यक्षेत्र रहेको राष्ट्रिय सभा र प्रमुख सचेतक पद पनि गुम्यो । त्यसले उनलाई न त राष्ट्रियसभाको सदस्य कायम राख्यो, न प्रतिनिधिसभाको उम्मेदवार नै । यस्तो अवस्था आउनुका पछाडि पार्टी नेतृत्वकै ठूलो कमजोरी रहेको एमालेका एक जिल्ला नेता एवं पूर्वप्रदेशसभा सदस्यले बताए ।
स्थानीय स्तरमा पार्टीका दुवै उम्मेदवारको लोकप्रियता उत्तिकै भएको निर्वाचन क्षेत्र नं. ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवराज पोखरेल बताउँछन् । ‘जुन उम्मेदवार आए पनि एमालेकै हुन्,’ उनले भने, ‘पार्टीको संगठन बलियो भएकाले उम्मेदवारका कारण अप्ठ्यारो पर्ने अवस्था छैन ।’
क्षेत्र नं. ५ मा भट्टराईले मेहनत गरेर संगठन बलियो बनाएको र राम्रो काम गरेर तिलोत्तमा नगरपालिकालाई देशभर चिनाउने प्रयास गरेका घिमिरे दुईमध्ये जो हुँदा पनि मतदाताको रोजाइमा पर्ने पोखरेलको भनाइ छ । निर्वाचन आयोगले घिमिरेलाई आधिकारिता दिएपछि भट्टराईले उम्मेदवारी जसले पाए पनि त्यो महत्त्वको विषय नभएको बताए ।
‘जसले टिकट पाए पनि एमालेका देशभरका उम्मेदवारले जित्नुपर्छ,’ भट्टराईले भने, ‘त्यही मान्यता अनुसार मेरो सहयोग रहन्छ ।’ परिपक्व निर्णय र नेतृत्वको समन्वय अभावमा एमालेले भट्टराईको राजीनामापछि राष्ट्रिय सभामा एक सदस्य घटाएको छ । अब राष्ट्रिय सभामा एमालेका १६ सदस्य मात्र छन् ।
क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ एमालेबाट घिमिरे र प्रदेश सभातर्फ (१) मा भूमिश्वर ढकाल र (२) मा एमालेकै रामचन्द्र यादव उम्मेदवार छन् । प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट कांग्रेसका भरतकुमार शाह र प्रदेशतर्फ (१) मा विष्णु पोखरेल र (२) मा फकरुद्धिन खानलाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनमा भएको सहमति अनुसार रूपन्देही ५ को प्रदेशसभा (१) माओवादीले पाएको थियो । माओवादीका विनोद पहाडी उम्मेदवार छन् । तर कांग्रेसका पोखरेलले पनि उम्मेदवारी दिएपछि माओवादीले भरत शाह विरुद्ध पनि उम्मेदवारी दिएको छ ।