८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
सूर्यको ‘इन्ट्री’ कि दुर्गाको ‘रि–इन्ट्री’ ?

प्यूठानी जनता मलाई जिताउन आतुर छनः थापा


ढोरपाटन संवाददाता
  • २६ कार्तिक २०७९ , शनिबार

  • प्यूठानी जनता मलाई जिताउन आतुर छनः थापा

    प्युठान, २६ कात्तिक  : प्यूठानमा चुनावी माहोल तात्दैछ। एमाले पोलिट ब्युरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा र सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल प्रतिस्पर्धामा छन्।

    थापाको पहिलो इन्ट्री हो। झलनाथ खनाल र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा प्रेस सल्लाहकार थिए। हक्की स्वभावका थापा लिखित चुनावी एजेन्डासहित गाउँ–गाउँ घरदैलोमा छन्। उनका प्रतिबद्धतामा ५१ बुँदे विकासका एजेण्डा समेटिएका छन्।

    प्यूठानको प्रमुख राजमार्ग भालुवाङ्ग–प्यूठान सडकलाई स्तरोन्नती एवं विस्तार गरी दुई लेन बनाउनेदेखि गौमुखी गाउँपालिकाको अर्खा रजवारा जोड्ने जिल्लाकै लामो झोलुंगे पुल बनाउनेसम्म योजना समेटिएका छन्। अझै पनि विद्युत् विस्तार हुन नसकेका स्याउलीबाङ, काफलबुटा, काइया, एकराते, रुझिम, कुर्तिवाङ, स्याउले, खबाङ, रजवारा, अर्खा, पूजा, लिवाङलगायतका बस्तीहरूमा विद्युत् विस्तार गरी सबै धरधुरीसम्म विद्युतको पहुँच स्थापित गर्ने र शत्प्रतिशत प्यूठानीलाई अँध्यारोबाट उज्यालो बनाउने थापाको प्रतिबद्धता छ।

    जिल्लाका सबै स्थानीय तहको केन्द्रसम्म पुग्ने पहुँचमार्गहरूलाई कालोपत्रे गर्ने, बहुप्रतिष्ठित लुङग्री माडी सिंचाई आयोजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्ने, झिमरुक ८ को लालीगुराँस रंगशाला दहियाल्नालाई राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको रुपमा विकास गर्ने, भिंग्री–स्वर्गद्धारी सडकलाई सुरक्षित र व्यवस्थित यात्राको लागि स्तरोन्नति गरी दुर्घटनाको विद्यमान जोखिम अन्त्य गर्नेलगायतका प्रतिबद्धता छन्।

    अर्घाखाँची सन्धिखर्क–गोखुङ्गा–मर्कावाङ–खरिवोट–तिराम–दाङ्ग (मदन भण्डारी राजमार्ग), सिमलटारी–पुर्काेटदह–सौतामारे–मच्छी–स्वर्गद्वारी–रोल्पा (मदन भण्डारी राजमार्ग), अर्घाखाँची–जोगिटारी–चुँजाठाँटी–खलङ्गा–बिजुवार–दाखाक्वाडी–बर्जिवाङ–भिंग्री–स्वर्गद्वारी–रोल्पा (६७ किमी) (जीवराज आश्रित कृष्ण सेन इच्छुक मार्ग) खण्डको निर्माण कार्य द्रुत गतिमा अघि बढाई सम्पन्न गर्ने थापाको प्रतिबद्धतामा समेटिएको छ।

    स्वर्गद्वारी विमानस्थल चाल्नेटारको जग्गा अधिग्रहणमा देखिएको समस्याका कारण अघि बढ्न नसकेको हुँदा आवश्यक बजेट व्यवस्था गरी निर्माण गर्ने समेत प्रतिबद्धता छ। एमालेबाट निर्वाचन क्षेत्र नं. लुम्बिनी प्रदेशससभा सदस्यमा तुल्सीराम शर्मा र २ नं. मा हरिप्रसाद रिजाल उम्मेदवार छन्।

    ०७० को संविधानसभा निर्वाचनमा चुनावी कमाण्डर बनेर थापाले जनताको घरदैलोमा पुगेर पार्टीलाई मत मागेका थिए। त्यसबेला एमालेका वामदेव गौतम र हिराबहादुर केसीले दुबै क्षेत्रबाट चुनाव जितेका थिए।

    ‘धेरै पटक धेरैलाई प्यूठानीले हेरिसकेका छन्’, थापाले भने, ‘म पहिलोपटक जनतामाझ मलाई भोट दिनुस् भनेर आइरहेको छु। अरु सबै हेरिसकेका पात्र भएकाले मलाई जिताएर त हेर्नुस् न भनेर मतदाताको घरदैलोमा छु। मतदाताको उत्साहपूर्ण मायाले मलाई उत्साहित बनाएको छ।’

    गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी दुर्गा पौडेलले १०१ बुँदे साझा प्रतिबद्धता लिएर जनताको घरदैलोमा पुगेकी छिन्। विभिन्न क्षेत्रगत विकासका एजेन्डाहरू उनको प्रतिबद्धतामा समेटिएको छ। प्रस्तावित चाल्नेटार विमास्थलको विवादहरूलाई समाधान गर्दै निर्माण कार्य अगाडी बढाउनेदेखि एक घर एक धारा पुर्‍याई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउने प्रतिबद्धता छ।

    गठबन्धन र एमालेले अघि सारेका धेरैजसो प्रतिबद्धताहरू मिल्दोजुल्दो छन्। प्यूठानको पुरानो स्वर्गद्धारी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन पहल गर्ने, बाग्दुला भीमगिठे र भालुवाङ प्यूठान सडकलाई दुई लेन बनाउने लगायतका प्रतिबद्धता गठबन्धनले अघि सारेको छ।

    पौडेल ०७० सालको निर्वाचनमा कपिलवस्तुबाट समानुपातिक सांसद् थिइन्। ०७४ को निर्वाचनमा उनी प्यूठानबाट वामठवन्धनको तर्फबाट प्रत्यक्ष सांसद् निर्वाचित भइन्। एमाले र माओवादीले त्यसबेला साथ दिए। संयोगवश उनी यसपटक पनि गठबन्धनकै साहारामा निर्वाचन लड्ने सौभाग्य पाइन्। गठबन्धनमा सहभागी पाँच दलमध्ये राजमोले देशभरमै प्यूठान र बाग्लुङ १ मा मात्र उम्मेदवारी दियो।

    त्यसमध्यकै एक पौडेल उम्मेदवार बनिन्। तर, ०७४ सालको जस्तो चुनाव जित्न भने पौडेललाई अहिले सहज छैन्। चुनाव जितेर पाँच वर्ष बिताएकी उनी गाउँ नफर्केको आम मतदाताहरूले गुनासो गरेका छन्। बाढीपहिरो र कोरोनाको बेला नागरिकको साथमा नरहेको उनीमाथी आरोप छ। गठबन्धनबाट प्रदेश १ मा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) र प्रदेश २ का कांग्रेसका उम्मेदवार सरोज थापा (रोज राणा) उम्मेदवार छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend