१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

पर्यटकको आकर्षण बन्दै मुस्ताङको ठिनी गाउँ होमस्टे


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७९ , शुक्रबार

  • पर्यटकको आकर्षण बन्दै मुस्ताङको ठिनी गाउँ होमस्टे

    जोमसोम, २३ मंसिर – मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँ पर्यटकको रोजाईको केन्द्र बन्न थालेको छ। यो गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटक भित्रिन थालेका हुन् ।

    चालु वर्षको साउदेखि हालसम्म दैनिक ८० जनासम्म पर्यटक यो होमस्टेमा आउने गरेका छन्। सदरमुकाम जोमसोम बजारमा पर्यटक लक्षित होटलमा खाना र बस्न महङ्गो शुल्क तिर्नुपर्ने भएकाले ठिनी थकाली होमस्टे पर्यटकको रोजाइ बनेको यहाँ आउने पर्यटकहरु वताउछन् ।
    होमस्टेमा बस्ने पर्यटकलाई स्थानीयले आफ्नो संस्कृति, गाउँको इतिहासबारे जानकारी गराउने गरेका छन्।

    स्थानीयले ०७३ सालदेखि होमस्टे सञ्चालन गर्न थालेका हुन् । सुरुवाती अवस्थामा होमस्टेमा बस्ने पर्यटक कम भएपनि अहिले पर्यटकको रोजाइ बन्दै गएको छ।

    मुस्ताङको भूगोल हेर्ने, मुक्तिनाथ मन्दिरको दर्शनमा जाने, कागबेनीधाम पुग्ने, कोरोलानाकाबाट फर्किनेले पनि होमस्टे खोज्ने गरेका छन् ।
    लमजुङको बेशी शहर, मनाङ र मुक्तिनाथक्षेत्र हुँदै वैकल्पिक पदमार्गमा यात्रा गर्ने तेस्रो मुलुकका पर्यटक पनि ठिनी होमस्टेमा बस्न लालायित हुने होमस्टेकी अध्यक्ष मदना थकाली बताउँछिन् ।

    परम्परागत खेती गर्ने यहाँका स्थानीयलाई होमस्टेले दैनिकी पनि सहज बनाइदिएको छ । होमस्टेलाई व्यावसायिक बनाएपछि स्थानीयको आयआर्जन पनि बढेको छ । सुरुमा ५ घरधुरीबाट होमस्टेको घोषणा गरेका ठिनीबासीले ठिनी थकाली होमस्टेमा सहभागी घरवालीको संख्या १० पुर्‍याएका छन् ।

    ०७३ सालमा जूमा थकाली, मीना थकाली, स्मीता थकाली, आईतकुमारी थकाली र बत्तीमाया थकालीले फरक काम गर्ने गरी होमस्टेको काम सुरु गरेका थिए । अहिले उनीहरूले सिंगो गाउँलाई नै व्यावसायिक बनाउँदै लगेका छन् ।

    गुजुमुच्च जोडिएका प्राचीन शैलीका घर, सांस्कृतिक धरोहरले ठिनी गाउँ, जोमसोम बजार र कालीगण्डकीको मनमोहक दृश्य ठिनी थकाली होमस्टेका आकर्षण हुन् ।

    ठिनी जोमसोमबाट १५ मिनेटमा पुग्न सकिन्छ। जहाँ स्थानीय उत्पादनका अर्गानिक थकाली खानाका परिकार, थकाली पहिरनमा सजिएर सेल्फी खिच्न पाइने व्यवस्था मिलाइएको छ । साँझपख थकाली सस्कृति र सांस्कृतिक कार्यक्रम देखाउने गरिएको छ ।

    ठिनी होमस्टेमा एकै पटकमा १३५ जना पर्यटक अटाउन सक्ने क्षमता छ। एक होमस्टे घरधुरीमा दैनिक १५ जना पर्यटक बस्न मिल्ने सुविधा छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend