९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

म छिट्टै तेस्रो कार्यकालको प्रधानमन्त्री बन्दैछु: प्रचण्ड


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७९ , बुधबार

  • म छिट्टै तेस्रो कार्यकालको प्रधानमन्त्री बन्दैछु: प्रचण्ड
    कास्कीको अन्नपूर्ण गाउँपालिकामा सम्बोधन गर्दै प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय

    पोखरा, २८ मंसिर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको नेतृत्वमा पुग्न लागेको बताएका छन्।

    कास्कीस्थित अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्व कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    यो गाउँ प्रचण्डको जन्मथलो पनि हो। ‘म मेरो जन्मथलोमा आइपुग्दाको हर्ष शब्दमा व्यक्त गर्न सक्दिनँ। मसँग अब धेरै वर्ष छैन। तपाईंहरुको आशिर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, उनले भने, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु। मलाई तपाईंहरुले छिट्टै देशको नेतृत्व लिएको देख्नु हुनेछ।’

    उनले आफ्नो पहिलो कार्यकाल विधि र प्रक्रिया सिक्दैमा बितेको पनि बताएका छन्। ‘मेरो पहिलो कार्यकाल राम्रोसँग काम गर्न नसक्दै बित्यो। विधि प्रक्रिया पनि राम्ररी बुझ्नै पाइनँ’, उनले भने, ‘दोस्रो कार्यकाल मैले देशका लागि केही महत्वपूर्ण काम गरेँ भन्ने लागेको छ।’

    उनले दोस्रो कार्यकालमा मधेश, पहाड र हिमाललाई एकढिक्का बनाएको बताए। ‘त्यसबेला देशमा के होला भन्ने थियो। तर मैले सिंगै देशलाई लोकतान्त्रिक प्रक्रियामा लैजाने भूमिका खेल्न पाएँ’, उनले भने, ‘आर्थिक विकासलाई गति दिने काम गरेँ। दोस्रो कार्यकालमा देशलाई एउटा बाटोमा लैजान सफल भएँ।’

    उनले अहिले देशमा कहीँ अस्थिरता हुने चिन्ता भएको पनि सुनाए। ‘देश अराजकतातिर जाने हो कि भन्ने बेलामा स्थानीय र संघको निर्वाचन सम्पन्न गरेर हामीले गति दिन सफल भएका छौँ’, उनले भने, ‘मेरा इष्ट मित्र साथीभाइहरुको साथले यस पटक देशको नेतृत्व गर्न पाउँदा अन्नपूर्ण गाउँपालिकामा केही अविष्मरणीय काम गर्छु, देशभर विकास निर्माणका काम गर्नेछु।’

    उनले निर्वाचन आयोगले प्रतिवेदन दिन लागेको बताउँदै अब केन्द्र र प्रादेशिक सरकार बन्ने पनि बताए। ‘दलहरु सरकार बनाउन लागेका छन्। जनताले निर्वाचनबाट केही चुनौती पनि दिएका छन्, अवसर पनि दिएका छन्’, उनले भने, ‘हामीले गम्भीर समीक्षासहित आउने दिनमा सुशासन र विकासका लागि केही गर्न सकेनौँ भने देशमा अफ्ठ्यारो पनि हुन सक्छ।’

    उनले केही राजनीतिक दल यो निर्वाचनबाट जन्मिएका बताउँदै त्यसलाई व्यवस्थाको उपज भने । ‘मधेश र पहाडमा पनि दलहरु जन्मिएका छन्’, उनले भने, ‘उनीहरु यही व्यवस्थामा जन्मिएकाले हामीले सकारात्मक रुपमा नै लिनुपर्छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend