काठमाडौं, २९ मंसिर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडोमा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन् । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ ।
जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै, घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ । हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
‘हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ’ डा. ठाकुरले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ ।’ चिसोले मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्छ ।