काठमाडौं, ४ पुस– जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु) संक्रमण जोखिम बढेको छ ।
जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको संक्रमण हुने गर्दछ । दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्दछ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इन्फ्लुएन्जाका फोकलपर्सन डा. मिलन ब्रजाचार्यले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई संक्रमणको जोखिम बढी हुने गरेको बताउँछन् । ‘दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या आउन सक्छन्’ उनले भने, ‘यस्ता बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्दछ ।’
नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको संक्रमण हुने भएकोले सतर्कता अपनाउनुपर्ने बज्राचार्यको सुझाव छ ।
इन्फ्लुएन्जा संक्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्दछन् । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।
यसबाट बच्न बिरामी भएकमा व्यक्तिसंँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रुप्मा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा सावुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्दछ ।