२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
पोखरा महानगरपालिका

कार्यकाल सकिन लाग्यो तर ठडिएन कार्यालय


जनमञ्च संवाददाता
  • २ पौस २०७८ , शुक्रबार

  • कार्यकाल सकिन लाग्यो तर ठडिएन कार्यालय
    पोखरा महानगर ८ को वडा कार्यालय भवन शिलान्यास गर्दै कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङ

    पोखरा, २ पुस – पोखरा महानगर कार्यालय नजिकै रहेको पोखरा ९ को वडा कार्यालयको आफ्नै भवन छैन । व्यक्तिगत घर भाडामा लिएर वडा कार्यालयले आफ्नो प्रशासनिक काम गरिरहेको छ ।

    भाडामा लिएको उक्त घरमामात्रै वडाले मासिक ६० हजार रुपैयाँ भाडामा खर्च गरिरहेको छ । कार्यकाल सकिन लाग्दासमेत वडाले कार्यालय बनाउन जग्गा खोजिरहेको वडाध्यक्ष रामराज लामिछाने बताउँछन् । ‘अहिलेसम्म हामी भाडाकै घरबाट काम गरिरहेका छौं । आफ्नै भवन बनाउन जग्गा खोजिरहेका छौं । पाइएको छैन,’ उनले भने ।

    २०७४ अधिकार सम्पन्न स्थानीय सरकार गठन भइसकेपछि कार्यकाल पनि अन्तिम चरणमा पुगेको छ । तर, कार्यभार सम्हालेको लामो समय भइसक्दा पनि पोखरा महानगरका अधिकांश वडाको आफ्नै भवन छैन । कुनै भाडाको घरमा भरमा छन् त कुनै पुरानै घरलाई टालटुल गर्दै काम चलाइरहेका छन् ।

    पोखरा महानगरको मुख्य कार्यालय रहेको पोखरा ८ नम्बर वडाले बुधबारमात्रै वडाको भवन शिलान्यास गरेको छ । २७ गते सम्झौता भएको उक्त वडा कार्यालय बनाउने जिम्मा पोखराकै सिमरन सरस्वती सिद्धार्थ जेभीले पाएको छ । सम्झौता भएको १५ महिनाभित्र सक्ने गरी जेभीले ३ करोड ३६ लाख रुपैयाँमा ठेक्का पाएको हो ।

    २ तला पार्किङसहित ५ तलाको बन्न लागेको भवन महानगरकै सुविधा सम्पन्न वडा कार्यालय बन्ने इन्जिनियर नरेन्द्र बस्याल बताउँछन् । ‘१४ आनाको ठाउँमा ६ आनाको मात्रै भवन बन्ने हो । बाँकी पार्किङ, पार्कका लागि छुट्याइएको छ,’ उनले भने ।
    ८ नम्बर वडाको वडा भवन शिलान्यास भएसँगै महानगरका ६ वटा वडा कार्यालय बन्ने प्रक्रियामा गएका छन् । पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलका अनुसार ८ नम्बर वडासहित ६, १८, २६, ३१ र १७ नम्बर वडाको भवन निर्माण भइरहेका छन् ।

    भौगोलिक हिसाबले सबैभन्दा ठूलो महानगरका रुपमा दरिएको पोखराका ३३ वटा वडा छन् । तर, त्यसमध्ये अहिलेसम्म ९ वटा वडाको मात्रै आफ्नै भवन छ । पोखरा २, ७, ११, १२, १६, १९, २२, ३० र ३२ नम्बर वडाले मात्रै आफ्नै वडा भवन बनाएका छन् ।
    बाँकी वडाको भवन जग्गा प्राप्तिमा ढिलाइ भएकै कारण भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको सूचना अधिकारी पौडेल सुनाउँछन् । ‘कुनै कुनै त साविकका वडा कार्यालयहरु नै मर्मत गरेर काम गरिरहेका छन् । तर, बाँकीको भने जग्गा खोज्ने काममै ढिलाइ भइरहेको छ,’ उनले भने ।

    सूचना अधिकारी पौडेलका अनुसार महानगरको अझै १८ वटा वडाको आफ्नै कार्यालय छैन । ती वडा कार्यालय प्राय भाडाकै घरबाट आफ्नो प्रशासनिक काम अघि बढाइरहेका छन् । पोखराका १, ३, ४, ५, ९, १०, १३, १४, १५, २०, २१, २३, २४, २५, २७, २८, २९, ३३ नम्बर वडाको आफ्नो भवन छैन । ‘यसमध्ये ९, २० र २७ नम्बर वडाको वडा कार्यालय नबनाई भएको छैन,’ सूचना अधिकारी पौडेलले भने ।
    वडाले आफ्नै भवन बनाउन जग्गा नपाइरहेकोबेला महानगरले आफ्नै मुख्य भवन बनाउनसमेत जग्गा पाउन सकेको छैन । पोखरा १२, माटेपानीमा प्रमुख प्रशासकीय भवन बनाउने निर्णय भएपनि जग्गा प्राप्तिमै ‘हलो’ अड्किएपछि अझैसम्म उक्त योजना अघि बढ्न सकेको छैन ।

    महानगरले आइतबारमात्रै प्रशासनिक (महाशाखा) भवन बनाउन पोखरा ८ स्थित साविक दमकल कार्यालयको जग्गामा शिलान्यास गरेको छ । हाल महानगरको मुख्य कार्यालय पुरानो, साँघुरो र जीर्ण भइसकेको भन्दै नयाँ प्रशासनिक भवन बनाउन लागेको हो । १२ करोड ५७ लाख रुपैयाँमा १५ महिनाभित्र सक्ने गरी महानगरले विराटनगरको भूमिबुद्ध, ओमबुद्ध जेभीसँग सम्झौता गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend