काठमाडौं, १० फागुन– चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले कूल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिएको हो ।
यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्यांकबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८÷७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २०.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै गतवर्षको तुलनामा आयात १९.९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ । ६ महिना अवधिमा चीनबाट १ खर्ब २५ अर्ब ५ करोड २४ लाख बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ ।