११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

भियतनामले यसरी राख्दैछ चीन र अमेरिकाबीच सन्तुलन


रिचर्ड हेडेरियन
  • ५ पौस २०७८ , सोमबार

  • भियतनामले यसरी राख्दैछ चीन र अमेरिकाबीच सन्तुलन
    Captain Nguyen Van Hung of Vietnamese Coast Guard boat 8003 speaks to other compatriot ships as a Chinese Coast Guard vessel cuts across its path to prevent access to an oil rig west of the Paracel Islands.

    काठमाडौं, ५ पुस – भियतनामका राष्ट्रनायक हो ची मिन्हले एक पटक भनेका थिए– ‘चीनसँग हाम्रो देशको सम्बन्ध ओठ र दाँतको जस्तै निकट छ।’ भियतनामी जनताका लागि चीनमा कम्युनिस्टहरुको विजयको विशेष महत्व छ भन्ने उनले खुल्लमखुल्ला स्वीकार गरेका थिए।

    पहिले फ्रान्स र पछि अमेरिकाविरुद्धको उपनिवेशविरोधी संघर्षमा माओको चीनले भियतनामलाई सघाएको थियो। हो ची मिन्हको आफ्नै नाम समेत चिनियाँ भाषाको हु चिमिङबाट आएको थियो।

    हो २० औँ शताब्दीको सुरुवातमा चीनमा शरण लिएर बसेका थिए। त्यहाँ उनले स्थानीय कम्युनिस्टहरुसँग सम्बन्ध निर्माण गरे। होले चेङ स्युमिङ नामक चिनियाँ युवतीसँग विवाह समेत गरेका थिए, जसलाई भियतनाममा ताङ तुयत मिन्ह भनेर चिनिन्छ।

    तर, शीतयुद्धका बेला चीन र भियतनामबीच भूराजनीतिक टक्कर पैदा भयो। त्यही प्रतिद्वन्द्विता र दक्षिण चीन सागरमा उब्जिएको विवादले भियतनामलाई पछिल्ला वर्षहरुमा पश्चिमाहरुको अँगालोमा धकेलेको छ।

    तर, चीनका आफ्नै कम्युनिस्ट साथीहरुको विरोध गर्न भियतनाम अमेरिकी गठबन्धनमा सामेल भएको छैन। बरु, भियतनामका नेताहरुले ‘सर्वव्यापी सन्तुलन’ को नीति अँगालेका छन्। जसले अलगअलग शक्ति–समूहहरुसँग राम्रो रणनीतिक सम्बन्ध निर्माणमा जोड दिन्छ।

    सोही नीतिअनुसार भियतनामले चीनसँग बलियो सञ्चार सम्बन्ध कायम गरेको छ। यो मुलुक कुनै पनि विदेशी शक्तिसँग ज्यादा निर्भर छैन। र, उसले युरोपदेखि रुससम्म र भारतदेखि जापानसम्म रणनीतिक साझेदारीको विश्वव्यापी सञ्जाल निर्माण गरेर आफ्नो रक्षा क्षमता बढाएको छ।

    हालै बाइडेन प्रशासनले गरेको ‘समिट फर डेमोक्रेसी’ मा भियतनामलाई बोलाइएन। यसले पनि हनोइले विविध मुलुकसँग रणनीतिक सम्बन्ध राख्दाको फाइदालाई देखाउँछ।

    यो क्षेत्रमा भियतनाम अन्य मुलुकभन्दा अलग छ। कारण– भियतनाम शताब्दीयौँसम्म अनेक चिनियाँ राजवंशविरुद्ध लड्दैलड्दै बनेको मुलुक हो। भियतनामी जनताले थुप्रै साम्राज्यविरुद्ध प्रतिरोधको लडाइँ लडेका छन्। मंगोल, फ्रान्सेली र अमेरिकी आक्रमणकारीहरुलाई हराएका छन्। तर, उनीहरुको सामूहिक चेतमा जहिले पनि चीन हाबी रहँदै आएको छ।

    कम्युनिजम र उपनिवेशविरोधी संघर्षको मिलनका कारण चिनियाँ र भियतनामी राष्ट्रवादीहरुबीच २० औँ शताब्दीको सुरुवातमा एकता देखियो। जुन दुर्लभ दृश्य थियो। जसका कारण माओवादी चीन र हो ची मिन्हको कम्युनिस्ट फौजबीच गठबन्धन बन्यो। र, त्यही गठबन्धनले १९५४ मा दिएन बिएन फुको निर्णायक लडाइँपछि फ्रान्सेलीहरुलाई हिन्द–चीनबाट सफलतापूर्वक लखेट्यो।

    तर, उनीहरुबीच प्राचीन दुश्मनी फेरि फर्किन लामो समय लागेन। किनभने बेइजिङ र हनोइ दुवै हिन्द–चीनमा प्रभाव विस्तार गर्ने प्रतिस्पर्धामा थिए। १९७० को दशकको सुरुवातमा जब माओले सोभियत संघलाई उछिन्न अमेरिकासँग हात मिलाउने निर्णय लिए, तब भियतनामी जर्नेल व ङुएन ज्यापले आक्रोश व्यक्त गर्दै भनेका थिए, ‘हामीलाई पिठ्युँमा छुरा रोपेजस्तो महुसस भयो।’

    शीतयुद्धको अन्त्यले यी दुई प्रतिद्वन्द्वी कम्युनिस्टलाई केही राहत भयो। दशकौँ लामो द्वन्द्वपछि उनीहरु तीव्र आर्थिक विकासको बाटोमा अघि बढे। तैपनि चीन–भियतनाम सम्बन्धलाई दक्षिण चीन सागरको विवादले बल्झाइरह्यो।

    चीनको पुनरोत्थान हुँदै गएको देखेपछि भियतनाम अमेरिकासँग नजिकिन थाल्यो। अमेरिकाले पनि भियतनामसँगको नयाँ रणनीतिक साझेदारीलाई स्वागत गर्यो। किनभने उसका फिलिपिन्सजस्ता परम्परागत सहयोगी मुलुकको विश्वसनीयतामा शंका बढ्दै गएको थियो।

    अमेरिका–भियतनाम मेलमिलाप २०१८ मा शिखरमा पुग्यो। त्यसबेला वासिङ्टनले यूएसएस कार्ल भिन्सन नामक विमानवाहक जहाज भियतनाम पठायो। ४० वर्षपछि पहिलो पटक अमेरिकी विमानवाहक जहाज भियतनामी बन्दरगाहमा पुगेको थियो। चीनसँग अमेरिकाको प्रतिस्पर्धा बढिरहँदा ट्रम्प प्रशासनले २०१९ को इन्डो–प्यासिफिक स्ट्राटेजी रिपोर्टमा भियतनामलाई रणनीतिक साझेदारका रुपमा उल्लेख गर्यो।

    बाइडेन प्रशासनले पनि पूर्ववर्ती सरकारकै नीतिलाई निरन्तरता दिँदै भियतनामसँग रणनीतिक सम्बन्ध कायम गरेको छ। भियतनामले यसै वर्ष दुई जना अमेरिकी मन्त्रीलाई स्वागत गरिसकेको छ। भियतनामलाई रिझाउन अमेरिकाले सम्भावित मुद्रा हेरफेरकर्ताको सूचीबाट समेत उसलाई हटाएको छ। यी दुई मुलुकबीचको द्विपक्षीय व्यापार बढिरहेको छ।

    तर, भियतनामले अमेरिकासँग गठबन्धन निर्माण गरेको छैन। बरु, उसले तीन प्रमुख तत्वमा आधारित भएर सन्तुलनको रणनीति अपनाएको छ। पहिलो– भियतनामको राष्ट्रिय सुरक्षा रणनीतिले तीन प्रतिबद्धता गरेको छ– आफ्नो भूमिमा कुनै पनि विदेशी सेनालाई स्वागत नगर्ने, कुनै पनि विदेशी शक्तिसँग सैन्य गठबन्धन नगर्ने, र एक महाशक्तिका विरुद्ध अर्काे महाशक्तिसँग निकट नहुने।

    भियतनामको यो सचेत असंलग्न विदेश नीति चीनसँग स्थिर कूटनीतिक सम्बन्ध राख्नैपर्ने र अमेरिकासँगको जस्तोसुकै साझेदारीको पनि संरचनागत सीमितता छन् भन्ने यथार्थबाट निर्देशित छ।

    मानव अधिकार र लोकतन्त्रका मुद्दामा रहेको विमतिका कारण अमेरिकी संसदले भियतनामसँग कुनै ठूलो रक्षा सम्झौतालाई अनुमति दिएको छैन। भियतनाम–अमेरिका सुरक्षा सहकार्य धेरै हदसम्म वास्तविक सैन्य साझेदारी नभई प्रतीकात्मक मात्र छ। वास्तविक सैन्य साझेदारीको अर्थ हो, नियमित ठुल्ठूला संयुक्त सैन्य अभ्यासका साथसाथ अत्याधुनिक हतियार र प्रविधि खरिद सम्झौता हुनु। जुन यी दुई मुलुकबीच भएको छैन।

    दोस्रो, भियतनामले सक्रिय व्यापार तथा औद्योगिक नीति अवलम्बन गरेको छ। जसले पश्चिमा लगानीकर्ता र बजारलाई आफ्नो राष्ट्रिय विकास रणनीतिको केन्द्रमा राखेको छ।

    चीनसँगको व्यापार निर्भरता घटाउन भियतनामले अमेरिका, युरोप, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानसँग समेत खुला व्यापार सम्झौता गरेको छ। ‘कम्प्रिहेन्सिभ एन्ट प्रोग्रेसिभ एग्रिमेन्ट फर ट्रान्स–प्यासिफिक पार्टनरसिप’सहित द्विपक्षीय र बहुपक्षीय पहलहरुमा ऊ सामेल भएको छ।

    तेस्रो, भियतनामले ठूलो मात्रामा हतियार किनेर आफ्नो रक्षा क्षमता बढाएको छ। प्रायः उसले वैकल्पिक शक्तिहरुसँग हतियार किन्ने सम्झौता गर्छ। रुसबाट उसले पण्डुब्बी जहाज र लडाकुविमानसहित आधुनिकतम सैन्य सामग्री किनेको छ।

    त्यस्तै, हनोइले भारतजस्ता मुलुकबाट समेत रणनीतिक हतियार खरिद गरेको छ। भारतले भियतनामलाई ब्रह्मोस क्रुज क्षेप्यास्त्रका साथै युद्धपोत समेत बेचेको छ। अर्कोतिर, भियतनामले युरोपेली संघसँग रक्षा सहकार्य सम्झौता गरेको छ।

    भियतनामले समुद्रमा तेल उत्खननमा पनि यस्तै रणनीति अपनाएको छ। दक्षिण चीन सागरको विवादित क्षेत्रमा पनि उसले रुसी, भारतीय र पश्चिमा कम्पनीहरुको लगानी निम्त्याएको छ।

    समग्रमा हेर्दा, भियतनामले आफ्नो रक्षा क्षमता वृद्धि र रणनीतिक साझेदारीका विविध सञ्जालमार्फत आर्थिक स्वतन्त्रता विकास एकसाथ गरेको छ। उसको सर्वव्यापी सन्तुलनको रणनीतिका कारण भियतनाम आत्मनिर्भर बनेको छ। यो मुलुक न कुनै महाशक्तिसँग धेरै निर्भर छ, न उदाउँदो चीनसामु दक्षिण चीन सागरमा पुरै कमजोर नै देखिन्छ।

    (साउथ चाइना मर्निङ पोस्टबाट। रिचर्ड हेडेरियन एसियाज् न्यु ब्याटलफिल्डः यूएस, चाइना एन्ड द स्ट्रगल फर वेस्टर्न प्यासिफिक पुस्तकका लेखक हुन्)

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend