बागलुङ, १६ फागुन– जिल्लाको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातका बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालक कृषकहरुलाई अनुदानमा बाख्रा वितरण गरिएको हो ।
चालु आर्थिक वर्षमा संघीय सरकारको ससर्त अनुदान बजेटबाट २० जना कृषकलाई उन्नत जातका बोका तथा बाख्रा वितरण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिए । नगरपालिकाको ७५ प्रतिशत अनुदानमा १५ जना कृषकलाई बाख्रा वितरण गरिएको हो ।
जमुना पारी जातका ६ बाख्रा, तीन बोका, बोयर जातका ६ बोका र नौ बाख्रा कृषकलाई वितरण गरेको खड्काका भनाई छ । ढोरपाटन पशुपालनका लागि उपयुक्त ठाउँ रहेकोले कृषकलाई उत्पादनसँग जोड्ने गरी नगरपालिकाले योजना बनाएको छ ।