बागलुङ, ३० फागुन– धौलागिरि बहुमुखी क्याम्पस (डिएमसी) बागलुङमा विभिन्न माग राख्दै केही विद्यार्थी संगठनले निर्वाचन अधिकृतको कार्यालयमा गरेको तालाबन्दी नेविसंघले तोडेको छ ।
ताला फोरेर निर्वाचन अधिकृतको कार्यालय खुलाउँदै नेविसंघले निर्वाचनका काम अगाडि बढाउनुपर्ने भन्दै क्याम्पस प्रशासन र निर्वाचन अधिकृतविरुद्व नाराबाजी गरेका थिए । सोमबार दिउँसो ४ बजेसम्म मनोनयनपत्र दर्ता समय थपिएपनि मनोनयन दर्ता नभएपछि पुनः समय थपी मंगलबार दिउँसो ५ बजेसम्म कायम गरिएको छ ।
निर्वाचन समितिले पटक पटक समय थपेपछि विद्यार्थीको हकहितका लागि ताला फोड्न बाध्य भएको नेविसंघ क्याम्पस इकाई समितिले जनाएको छ । तालाबन्दी गरेको विद्यार्थी संगठनले भने आफ्ना माग पुरा नभएसम्म स्ववियु निर्वाचन हुन नदिने अडानमा छन् ।
स्ववियू निर्वाचनको वातावरण बिथोलिएको र फर्जी परिचयपत्र भेटिएकाले एकजना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुनेगरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारी विप्लव र अखिल संयुक्त प्यानलले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए ।
यसअघि निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै सोमबार क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तिराम न्यौपानेसहितको टोलीलाई संयुक्त विद्यार्थी समूहले कार्यकक्षमै थुनेका थिए ।