नेपालमा साक्षरभन्दा निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनबाट बढी ‘क्यान्सर’ रोग हुने देखिएको छ । एन्सन नेपालले सार्वजनिक गरेको अध्ययनमा ४६ प्रतिशत निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर रोग देखिएको हो ।
काठमाडौं, ८ चैत्र– एन्सन नेपालले सन् २०१९ मा गरेको सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान उपचार सेवा लिन आउने सेवाग्राहीको आर्थिक भारसम्बन्धी अनुसन्धानगरेको थियो । सो अनुसन्धानमा १ दशमलव ९ प्रतिशत उच्च शिक्षा हासिल गरेका व्यक्तिमा मात्र सुर्तीजन्य पदार्थको सेवनका कारणले क्यान्सर हुने गरेको पाइएको छ ।
अध्ययनले १६ प्रतिशतले बिरामीले घर जग्गा बेचेर उपचार गर्ने गरेको पाइएको छ । सत्ताइस दशमलव दुई प्रतिशत बिरामीले घरायसी बचतबाट उपचार खर्च बेहोर्ने र ६० प्रतिशत विरामी आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको अध्ययनमा देखाइएको छ ।
अध्ययनले सुर्तीजन्य पदार्थको सेवनले गर्दा हुने क्यान्सर रोगका विरामीको औषत उमेर ५३ दशमलव पाँच वर्ष रहेको छ । एन्सन नेपालले १ सय ३ जना काठमाडौँमा उपचार गराइरहेका बिरामीसँग अध्ययन गरेको थियो ।
अध्ययनले क्यान्सर रोगको उपचारका लागि ४२ दशमलव ७ प्रतिशत कृषि, २२ दशमलव ३ प्रतिशत व्यापार, ११ दशमलव ७ प्रतिशत दैनिक ज्यालादारी, ८ दशमलव ७ प्रतिशत सरकारी सेवा र ८ दशमलव ७ प्रतिशत वैदेशिक रोजगार मुख्य उपचारको लागि आम्दानीको मुख्य स्रोत भएको देखाएको छ ।