बागलुङ, ९ चैत्र– जिल्लामा परिवार नियोजनका लागि स्थायी बन्ध्याकरण गर्ने क्रम घटेको छ । धौलागिरी अस्पतालमा नियमित हुने बन्ध्याकरणबाहेक जिल्लामा हरेक बर्ष सञ्चालन हुने शिविरमा बन्ध्याकरण गर्नेहरुको रुची कम देखिएको हो ।
अस्थायी बन्ध्याकरणका साधनको प्रयोग बढ्दो भएपनि स्थायी बन्ध्याकरणमा भने सन्तानका रहर पुगेका जोडीको चासो कम पाईएको हो । बैदेशिक रोजगारी, स्थायी बन्ध्याकरणका बिषयमा समाजमा रहेको गलत भ्रम लगायतका कारणले स्थायी बन्ध्याकरणमा दम्पत्तिहरुले कम चासो दिने गरेको स्वासथ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
केही दिनअघि स्वास्थ्य कार्यालयले जिल्लाका चार ठाउँमा सञ्चालन गरेको बन्ध्याकरण शिविरबाट ४२ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । कार्यालयको लक्षभन्दा बढी भएपनि पछिल्लो समय बन्ध्याकरणमा रुची भने कम पाईएको शर्माले बताए ।
शिविरबाट १९ जना महिलाको मिनील्याप र २३ जना पुरुषमा भ्यासेक्टोमी गरिएको थियो । ढोरपाटन, जैमिनी, गलकोट नगरपालिका र धौलागिरी अस्पतालमा शिविर सञ्चालन गरिएको थियो । ‘बिदेश बस्ने भएपछि स्थायी किन गर्नु केही समयका लागि अस्थायी परिवार नियोजनका साधनले नै चल्छ भन्नेहरु धेरै पायौं’ शर्माले भने ‘बन्ध्याकरण पछि शारिरिक रुपमा कुनै प्रभाव नपर्ने भएपनि कतिपय भ्रमहरुले बन्ध्याकरण गर्न मान्दैनन् ।’
समुदाय स्तरमा स्थायी बन्ध्याकरणका बिषयमा जनचेतनाको आवश्यकता रहेको समेत शर्माले बताए । ‘कतिपय केशहरु हामीले नसोचेका पनि आए, तर कतिपय केश हामीले बुझाउन सकेनौं’ शर्मा भन्छन् ‘अस्थायी परिवार नियोजनका साधनभन्दा खर्च र स्वास्थ्यका हिसाबले स्थायी बन्ध्याकरण भरपर्दो हो भन्ने सबैले बुझ्नु पर्छ ।’