बागलुङ, १२ चैत्र– धौलागिरि बहुमुखी क्यापस बागलुङमा स्ववियु निर्वाचन घोषणा गरिएको भन्दै केही बिद्यार्थी संगठनले दर्ता गरेको रिट निवेदनमा उच्च अदालत पोखरा बागलुङ इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
बिद्यार्थी संगठन बीचको असहमती बीच स्ववियु निर्वाचनको मिति तोकिएको बिषयमा परेको रिट निवेदनमा उच्चले चैत १४ गते दुवै पक्षलाई राखेर छलफल गर्ने भएको हो ।
आइतबार उच्च अदालतका न्यायधिश निलम पौडेलको एकल इजलाशले रिट निवेदन उपर छलफलमा आउन आदेश दिएको हो ।
त्रिभुवन विश्व विद्यालयले चैत ५ गतेको लागि तय गरेको निर्वाचन मितिमा निर्वाचन हुन नसकेपछि क्याम्पस प्रशासन र नेविसंघसहित केही बिद्यार्थी संगठनको सहमतीमा चैत १८ गते निर्वाचन गर्ने निर्णय भएको थियो । निर्णय पश्चात अनेरास्ववियु, अखिल क्रान्तिकारी सहितका बिद्यार्थी संगठनले उच्च अदालत रिट निवेदन दिएका थिए ।
५ बिद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई बिपक्ष बनाई निवेदन दिएको थियो । उच्चका अनुसार मंगलबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच अदालतमा छलफल हुनेछ ।