बागलुङ, २७ चैत्र– भेडापानबाट बागलुङको रणसिंकिटेनीका किसानले खर्चको जुटाउँदै आएका छन् । ५० देखि ३ सय वटासम्म भेडा पालेका किसानले गाउँघरमा आवस्यक पर्ने मासुको माग पुरा गरी छिमेकी गाउँ र पालिकादेखि आउने मागसमेत पुरा गराएका छन् ।
‘गाउँघरमा चाहिने मासुको लागि हाम्रै गोठका भेडाले पुगेको छ’ स्थानीय पृथबहादुर श्रीषले भने, ‘छिमेकी जिल्लाबाट मासुसंगै पूजाआजाका लागि आवश्यक भेडाको साँड खोज्नेले समेत रणसिंकिटेनीका किसानलाई सम्पर्क गर्छन् ।’
श्रीषसंगै छिमेकी राजेन्द्र श्रीष, वडा अध्यक्ष जंगबहादुर बलाल लगायतले भेडापालन गरेर मासु उत्पादनमा साथ दिएका छन् । किसानले जंगल, खर्क र ढोरपाटनसम्म लगेर भेडा चराउने र त्यसबाटै आम्दानी गर्दै आएको श्रीसले बताए ।
‘बाबुबाजेले यहीं काम गरे, हामीले पनि भेडा पालेरै घरखर्च चलाएका छौं’ श्रीषले भने, ‘बार्षिक तीनचार लाख कमाइ भएको छ ।’ पहिला थोरै संख्यामा भेडा पाल्ने किसानले अहिले संख्या बढाएर व्यवसायिक बनेको श्रीसको भनाई छ ।
भेडापालक किसानले बर्षमा २ देखि ४ लाख रुपैयाँ कमाएर घरमा पठाउने गरेका छन् । व्यवसायिक भेलापालन बढ्दै जाँदा पश्चिम बागलुङको बडिगाड, ढोरपाटन, तमानखोला र निसीखोलामा खसीबोका आयात नभएको श्रीसले बताए ।
पछिल्लो समय बागलुङमा मासु आयात घटेको भेटेनरी अस्पतालको तथ्यांक छ । कतिपय भूगोलमा अरु खेतीपाती गर्न नसकिने भएकोले भेडापालनमै जोड दिनुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईको तर्क छ । बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममार्फत भेडाबाख्रा पाल्ने किसानका लागि अनुदान कार्यक्रम शुरु भएको छ ।