काठमाडौं, २ बैशाख– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले जानकारी दिए । उनले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताए ।
विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको संख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने छ ।
वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ ।
यस्तै, वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ ।
आगामी शैक्षिकसत्रका लागि विद्यालयमा नयाँ भर्ना हुने पाँच वर्षमुनिका सबै बालबालिकाका लागि खोप कार्ड अनुगमन गर्नसमेत सबै विद्यालयमा जानकारी एवं समन्वय गरिने छ । स्थानीय तहस्तरमा बालबालिकाले पाउने विभिन्न सेवा, सुविधा वितरणमा खोपकार्य अनिवार्य गरिने छ । सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयमार्फत खोप सप्ताह सफल बनाउन लागि अनुरोध गरिएको छ ।