काठमाडौं, २४ बैशाख– प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखेका थिए ।
नेकपा (एमाले) संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिंगो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे । ‘सत्यतथ्य, पादरदर्शी ढंगले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ’, उनले भने ।
सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरमा ल्याउनुपर्ने बताए । सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही होस्, निर्दोषलाई नफसाइयोस् भने ।
सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे । सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए । उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने बताए ।
सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे ।