प्रतिकात्मक तस्बिर
म्याग्दी, १८ असार– धौलागिरि गाउँपालिका–१ गुर्जामा सामुदायिक वन समूहले जडीबुटी खेती सुरु गरेका छन् । पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी जातको जडीबुटी खेती गेका हुन् ।
समूहका अध्यक्ष तुलसी छन्त्यालले डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवा रोपेको जानकारी दिइन् ।
समूहमा आबद्ध २५ जनाले सामूहिक रुपमा श्रमदान गरेर बाँझो जमिन खनजोत गरेर बिरुवा रोपेका हुन् । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुंगाको एक सय पाँच मिटर लामो पर्खाल निर्माण भएको छ ।
डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले चालु आर्थिक वर्ष २०७९/८० मा जडीबुटी खेतीका लागि ४ लाख ८० हजार सहयोग गरेको जानकारी दिए । ‘जडिबुटी खेतीमा उपभोक्ताले कूल लागतको दश प्रतिशत लागत साझेदारी गरेका छन्’ क्षेत्रीले भने ।
प्राकृतिक रुपमा रहेका जडीबुटीको संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत सहयोग गरिएको हो । यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार गरिएको क्षेत्रीले बताए ।
गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बाँझिएको खेतीयोग्य जमिनको सदुपयोग, संरक्षण र स्थानीयको आयआर्जन सुधारका लागि जडीबुटी खेती विस्तार गरिएको बताए । भूगोल र हावापानी जडीबुटी खेतीका लागि अनुकूल छ भने बाँझिएको खेतीयोग्य जमिनको संरक्षण र सदुपयोग पनि भएको छ’ छन्त्यालले भने
समूहले २०७७ मा ७ हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपेका थिए । २०७८ मा हिमाली कृषि सहकारीमा आबद्ध कृषकले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ ।