बागलुङ, ६ साउन– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसले बीपीको सिद्दान्त पालना गरेमा देशमा राजनीतिक संस्कारको विकास हुने बताएका छन् । उनले देशको आर्थिक उन्नतीमा पनि बीपीको सिद्दान्त र व्यवहार उपयोगी हुने बताए ।
४१ औं बीपी स्मृति दिवशको अबसर पारेर नेपाली कांग्रेस बागलुङले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै पाण्डेले आर्थिक समृद्दि र उन्नतीको बाटोमा अझै हिंड्न नसकेको बताए । उनले आर्थिक विकासको एजेण्डा बोकेर हिंडेमा देश र पार्टी दुवै सफल हुने पनि बताए ।
‘बीपीले देखाएको बाटो र आर्थिक नीतिमा हिंड्न सकियो भने देश समुन्नत बन्छ, तर हिंड्न सकिएको छैन’ उनले भने, ‘देशमा राजनीतिक परिवर्तन मात्रै भएको छ, आर्थिक पाटोमा धेरै काम गर्न बाँकी छ ।’ अर्थमन्त्रीहरु धेरै भएपनि प्रजातान्त्रिक समाजबादले खोजेको आर्थिक बिकासमा काम नभएको उनले बताए ।
देशमा कलकारखानाको विकास, पर्यटनमार्फत आर्थिक समृद्वि र उद्योगको विकासमा कांग्रेस नेतृत्वले अझै बढी काम गर्न बाँकी रहेको पनि उनले बताए । गण्डकी प्रदेश सरकारले उत्पादनमा आधारिक अनुदान नीतिमार्फत किसानको आर्थिक विकासको लक्ष राखेको उनले सुनाए ।
कांग्रेसले बिभिन्न प्रजातीका ५ सय बिरुवा बागलुङ कालीका मन्दिर परिसरमा रोपेको थियो । कांग्रेस सभापति जीतबहादुर शेरचनको अध्यक्षता र सचिव हरिहर शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न पदाधिकारीले पनि बीपीको सिद्दान्तमा कांग्रेस हिड्नुपर्ने धारणा राखेका थिए ।