बागलुङ, ६ मंसिर– धौलागिरि अस्पताल बागलुङमा औषधि प्रतिरोधक क्षयरोगको परीक्षण गर्न सकिने अत्याधुनिक मेसिन जडान गरिएको छ ।
राष्ट्रिय क्षयरोग निवरण केन्द्र भक्तपुरको सहयोगमा ‘एक्स्पट एक्सडिआर १० कलर’ मेसिन जडान गरिएको हो । केन्द्रका प्राविधिक सहिको टोलीले उक्त मेसिन ल्याएर धौलागिरि अस्पतालको प्रयोगालामा जडान गराएका हुन् । यो मेसिनले रोग मात्र नभई कुन प्रकृतिको क्षयरोग लागेको हो भन्ने पत्ता लगाउने स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीषक देवप्रकाश घिमिरेले बताए ।
नेपालमै यस्तो खालको ६ स्थानमा मात्रै जडान भएको उनले जानकारी दिए । बागलुङमा पनि क्षयरोगी बढीरहेकोले परीक्षणका लागि मेसिन चाहिएको हो । तत्काल परीक्षणको रिपोर्ट आएपछि उपचार सेवा दिन सजिलो हुने भएकोले मेसिन माग भएको थियो । ४० लाख रुपैयाँ पर्ने मेसिन जडान भएपछि अस्पतालमा रहेको यस अघिको सामान्य मेसिनलाई बुर्तिवाङ पठाइएको छ । ल्याबका प्राविधिकलाई अभिमुखीकरणपछि यो मेसिन संचालनमा ल्याइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले बताए ।
अस्पतालमा पछिल्लो समय क्षयरोगका बिरामी प्रसस्त आउने भएकोले परीक्षण केन्द्र बनाउने योजना अनुसार नै मेसिन मगाइएको हो । घिमिरेका अनुसार जिल्लामा गत बर्ष २ सय ३५ क्षयरोगीले औषधी खाएका थिए । चालु बर्षपनि ४५ जना औषधि खाने छन् । तीबाहेक डिआर औषधि खाने ६ जना छन् । उनीहरुको समेत उपचारमा यो मेसिन उपयोगी भएको केन्द्रका ल्याब निरीक्षक इशवरीप्रसाद भुषालले बताए ।
यो एक किसिमको पिसिआर मेसिनसमेत भएकोले क्षयरोग निवारणमा सहयोग पुग्ने उनले बताए । नेपालमा अहिलेसम्म ३ हजार क्षयरोगी भएको अनुमान छ । तीमध्ये अहिलेसम्म ७ सय केश मात्र पत्ता लागेकोले परीक्षणको दायरा फराकिलो बनाउने थालनी भएको उनले बताए ।
बुर्तिवाङमा मंगलबारै २० लाख रुपैयाँ पर्ने ‘डिएस ६ कलर’ प्रविधिको परीक्षण मेसिन जडान भएको छ । यो मेसिनले क्षयरोगको प्रारम्भिक अवस्था पत्ता लगाउन सकिन्छ । बुर्तिवाङबाट रुकुम, जाजरकोट, गुल्मी लगायतका जिल्लाका बिरामीको पनि क्षयरोग परीक्षण गर्न सकिने घिमिरेले बताए । नेपालमा क्षयरोगको निशुल्क उपचार हुन्छ ।