बागलुङ, १६ मंसिर– उच्च अदालत बार एसोसिएसन बागलुङले कानून कार्यान्वयनमा देखिएका समस्या समाधानबारे अन्तरक्रिया सम्पन्न गरेको छ ।
विशेषगरी उच्च अदालत बागलुङ निकट बागलुङ, पर्वत र म्याग्दीका ४० कानून व्यवसायीलाई अभिमुखीकरण गराएको हो । मुलुकी देवानी कार्यविधि संहिताको दफा १३१ देखि १३४, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ५१ मा भएको प्रारम्भिक सुनुवाइको प्रक्रिया, हकदैया, हदम्याद र अधिकार क्षेत्रबारे प्रस्तुतीकरण र समस्या समाधानका उपायबारे छलफदल भएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अन्र्तगतका फैसला बिषयमा पनि छलफल भएको थियो ।
डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता यदुनाथ खनालले कानून व्यवसायीका समस्या, अदालतबाट हुने फैसला तथा व्यवहारिक समस्याबारे पनि प्रस्तुती गरेका थिए । कानूनमा भएका दफालाई अझैपनि अदालत र कानून व्यवसायीले टेक्न नसकेको, मुद्दा, रिट तथा अन्य समस्यामा न्यायाधिस र कानून व्यवसायीनै अलमलमा पर्दा पीडितले न्याय पाउन नसकेका बिषय पनि उनीहरुको छलफलको एजेण्डा थियो ।
प्रारम्भिक सुनुवाइ सम्बन्धी व्यवस्थाबारे समेत न्यायाधिसहरुका फरक फरक आदेश आउने गरेको कानून व्यवसायीले गुनासो गरे । ती बिषयमा कानून व्यवसायी एक भएपछि बार बेञ्च छलफलबाट सही निष्कर्षमा पुग्न सकिने बारका अध्यक्ष रमेशबहादुर खड्काले बताए । अभियुक्तले बयान गर्दा वा प्रतिवादीले प्रतिउत्तर पेश गर्दा कस्ता बिषयमा जिकिर लिन सकिन्छ भन्ने कुरामा कानून व्यवासयी अलमलिएको अवस्थामा अभिमुखीकरणले स्पष्ट बनाएको खड्काले जानकारी दिए ।