बागलुङ, १६ मंसिर– प्रजातन्त्रबादी कानून व्यवासयीहरुको साझा संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बागलुङको छैठौ अधिवेसनले सरिता केसीको अध्यक्षतामा नयाँ समिचि निर्विरोध निर्वाचित गरेको छ ।
शनिबारदेखि शुरु भएको अधिवेसनले केसी नेतृत्वमा ११ सदस्य रहेको समिति चयन गरेको हो । केसी यसअघि कार्यवहाक अध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा हरिप्रसाद गौतम, सचिवमा रामराज कंडेल र कोषाध्यक्षमा बिष्णुप्रसाद सापकोटा, सदस्यहरुमा अधिवक्ता दिननाथ शर्मा, शिवराज पन्त, नरेन्द्र बुढाथोकी, गणेशप्रसाद शर्मा, प्रकाश बराल, गीता श्रीष र अमरबहादुर कार्की रहेका छन् । निर्वाचित अध्यक्ष केसीले कानूनी शासनको लागि निरन्तर खबरदारी गर्ने बताइन् ।
अधिवेसनको उद्घाटन गर्दै डिएलएका पूर्व केन्द्रीय अध्यक्ष यदुनाथ खनालले कानून उल्लंघन गर्ने छुट कसैलाई नभएको बताए । उनले समावेशी र राजनीतिक भागबण्डाले दक्ष कानून व्यवसायी पाखा लागेर न्यायालयमा पुग्नेहरु अदक्ष देखिने गरेको आरोप लगाए । फैसला र आदेश देख्दा पनि कस्ता व्यक्ति न्यायालयमा पुगेछन् भन्ने भएको भन्दै हरेक कानून व्यवासयीले आफ्नो दक्षता तिखार्नपनि आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जिवी शर्मासहित डिएलए पर्वत, म्याग्दी र कास्कीका पदाधिकारीले शुभकामना मन्तव्य राखेका थिए । अधिवक्ता केसीको अध्यक्षता, हरिप्रसाद गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसअघि डिएलए बागलुङ तथा गण्डकी प्रदेशको पदस्थापन भएको थियो । केही समयअघि डिएलएको राष्ट्रिय सम्मेलनबाट उपाध्यक्षमा निर्वाचित अधिवक्ता भूमिश्वर गौतम गण्डकी प्रदेशको अध्यक्ष भएकोले उनले नयाँ समिति चयन गरेका थिए ।