बागलुङ, १८ मंसिर– अपाङ्गता सम्बन्धी संविधानमा उल्लेख भएका बिषयलाई कार्यान्वयन गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । ३२ औँ विश्व अपाङ्गता दिवसको अवसरमा बागलुङमा आयोजित अन्तरक्रियामा अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति, नियम र कानुन बनाउदै संविधानमा उल्लेख भएका बिषयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको हो ।
समाजिक विकास कार्यालयको आयोजना तथा अपाङ्गता सरोकार संघको समन्वयमा अयोजित अन्तरक्रियामा बोल्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीले अपाङ्गता भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्नेगरी नीति नियम बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरुको एजेण्डालाई सम्बोधन गर्न आवश्यक रहेको बताए । अपाङ्गता भएका व्यक्तिहरुले अध्यन गर्ने बिद्यालयलाई प्रविधीमैत्री र व्यवसायीक बनाउनुपर्नेमा बरालको जोड थियो ।
कार्यक्रममा बागलुङ नेत्रहिन संघका गण्डकी प्रदेश उपाध्यक्ष एवम् जिल्ला अध्यक्ष कुमार पुन, शारीरिक अपाङ्ग संघका अध्यक्ष होमनाथ शर्मा, धौलागिरि बहिरा आवासिय माविका प्रधानाध्यापक रेशम श्रीस र बिवाइसीका प्रतिनिधी दिपक शर्माले बोलेका थिए । कार्यक्रममा दिवसको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा सहभागी बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम अपाङ्गता सरोकार संघका अध्यक्ष चिजा थापाको अध्यक्षता, बागलुङ नगरपालिका महिला शाखाका रचना आचार्यको स्वागत र सामाजिक विकास कार्यालयका गुमादेवी रिजालको संचालनमा सम्पन्न भएको थियो ।