बागलुङ, २४ मंसिर– बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुरु भएको छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगितामा शनिबारका खेलमा ४० बढी पदक बितरण भएका छन् ।
एथलेटिक्स, सटपुट, लमजम्प र त्रिपलजम्पका पदकहरु बितरण भएका हुन् । शनिबार भएको सटपुटमा छात्रतर्फ जनताधन माबिका सन्तोष रोकाले स्वर्णपदक जिते । गणेश माबिका प्रतिक थापाले रजत र सिगाना माबि तित्याङका आरकृष्ण सुनारले कास्य पदक जितेका छन् । छात्रातर्फ मुलपानी माबिकी रबिना थापाले स्वर्ण पदक जितिन् । चिल्ड्रेन लाइफकी एलिना थापाले रजत र अमर आदर्शकी निरुता रोकामगरले कास्य पदक हात पारेकी थिइन् ।
लङजम्पतर्फ छात्र खेलमा गणेश माबिका प्रतिक थापाले स्वर्ण, अमर अदर्शका समिर खत्रीले रजत र जनताधन माबिका सन्तोष रोकाले कास्य पदक जिते । सोही खेलको छात्रातर्फ जनताधन माबिकी सुविना शर्माले स्वर्ण पदक जितिन् । गणेश माबिका सोनी कुमालले रजत र चिल्ड्रेन लाइफकी दिपा श्रीषले कास्य पदक हात पारिन् ।
शनिबारै भएको २ सय मीटर दौडमा छात्रातर्फ गणेश माबिकी पुनम पौडेलले स्वर्ण, अमरआदर्शकी अंकिता पौडेलले रजत र चिल्ड्रेन लाइफकी रिवा ठकुरीले कास्य पदक जितिन् । छात्रतर्फ गणेश माबिका हरि रोकाले स्वर्ण जिते । न्यू एभरेष्टका समीर अर्यालले रजत र सिगाना माबिका गौरव सुनारले कास्य पदक जितेका छन् । ८ सय मीटर दौडमा छात्रातर्फ सिगाना माबिकी दुर्गा जिसीले स्वर्ण पदक, गणेश माबिकी अञ्जली पौडेलले रजत र बिद्यामन्दिरकी पुस्पा बोहराले कास्य पदक हात पारेका छन् । ८ सय मीटरकै छात्रतर्फ सिगाना माबि तित्याङका सुजन कार्कीले स्वर्ण, चिल्ड्रेनका गणेश केसीले रजत र गणेश माबिका हरि रोकाले कास्य पदक हात पारे ।
४ सय मीटर दौडमा भने गणेश माबिका हरि रोकाले स्वर्ण पदक जितेका छन् । जनताधनका सन्तोष रोकाले रजत र बिद्यामन्दिरका सागर नेपालीले कास्य पदक हात पारे । छात्रा तर्फ गणेश माबिकै अञ्जली पौडेलले स्वर्ण जितिन् । सिगाना माबिका मनकुमारी कार्कीले रजत र आर्दश बिद्यामन्दिरकी एन्जल कार्कीले कास्य पदक जितेका छन् ।
शनिवार भलिबलका ८ खेल सम्पन्न
शनिबार भलिबलतर्फ छात्राका ४ र छात्रका ४ खेल गरी ८खेल सम्पन्न भए । छात्रतर्फ महाबिद्याजन माबि रायडाँडा बिजयी भएको छ । सिगाना माबिले नक्कली खेलाडी राखेर खेलेको खुलासा भएपछि रायडाँडा बिजयी भयो ।
त्यस्तै न्यू ओएसिसलाई हराएर धवलागिरि बिरेन्द्र माबिले खेल जितेको छ । उसले २५–२२ र २५–१६ को अंकमा जित हात पारेको हो । रुद्रे पिपल माबिलाई हराएर चिल्ड्रेनलाइफ अगाडि बढेको छ । चिल्ड्रेनले २५–१९ र २५–२३ को स्कोरमा जित हात पारेको हो । शनिवारै भएको बिद्यामन्दिर माबि र अमर आदर्शको खेलमा अमर आदर्श बिजयी भएको छ । बिद्यामन्दिरले नक्कली बिद्यार्थी राखेको खुलासा भएको थियो । बिद्यामन्दिर माबिका प्रअ छविरमण रेग्मीले खेलाडी छनौटमा गल्ती भएको स्विकारे । ‘धेरै बिद्यार्थीमा हामीले थाहा पाउन सकेनौं, गत्ति भएछ’ उनले भने, ‘अब यस्तो गल्ती दोहो¥याउँदैनौं ।’
छात्रातर्फ भलिबल खेलमा भने बिद्यामन्दिरले कुँडुले माबिलाई पराजित गरेको छ । बिद्यामन्दिरले २५–५ र २५–१८ को अंकमा पराजित ग¥यो । त्यस्तै दोश्रो खेलमा चिल्ड्रेन लाइफले गुराँस बिद्यासदनलाई पराजित गरेको छ । चिल्ड्रेनले २५–६ र २५–३ को स्कोरमा खेल जितेको हो । तेस्रो खेलमा धवलागिरि बहिरा माबिले रुद्रे पिपललाई पराजित गरेको छ । बहिराले २५–१३ र २५–९ को अंकमा खेल जितेको हो ।