बागलुङ, २७ मंसिर– निर्वाचन जितेर गएपछि बागलुङ क्षेत्र नं. १ का सांसद तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिलो पटक बागलुङका स्थानीय पालिका र मतदाता माझ अन्तरक्रियाको काम थालेका छन् ।
पारिवारिक समस्यामा परेर समयमा जनताको घरदैलोमा आउन नसकेको उनले बताए । सोमबार बागलुङ नगरपालिकाका जनप्रतिनिधि सँगको अन्तरक्रियामा केसीले ढीलागरी जनता र स्थानीय तहमा आइपुगेपनि राज्यको ध्यानाकर्षण गरेर काममा अगुवाइ गर्ने बताए । ‘मैले आउने बेलामा प्रधानमन्त्री र कांग्रेस सभापति सहितका नेतालाई भेटेर आएको छु’ केसीले भने, ‘जनतालाई के दिने ?’ प्रधानमन्त्रीले अत्यावस्यक विकासमा साथ दिने आश्वासन दिएपछि जिल्ला आएको उनले बताए ।
केसीले केही पनि भएको छैन भन्ने हल्ला मच्चाउनेले युवा पलायन बढाएको आरोप समेत लगाएका छन् । हिजो धेरै दिन लगाएर पुगिने गाउँमा आजकल मोटर चढेर जान सकिएको छ’ केसीले भने, ‘केही विकास र परिवर्तन भएकै हो ।’ सोचेजती विकास गर्न देशको अर्थतन्त्रले पनि नसक्ने भन्दै उनले केही महत्वपूर्ण र दिर्घकालिन योजनामा भने राज्यको ध्यानाकर्षण गराउने उनले बताए ।
अर्को प्रसंगमा केसीले सहकारी खोलेर जनताको पैसा हिनामिना गर्नेलाई नेताहरुले संरक्षण दिएको आरोप लगाए । हिजो ऐन नियम बिपरित सहकारी खोल्दा तिनै नेताले ठिक भनेकोले अहिले जनताको पैसा खाएको भन्दै अझैपनि ठगहरुलाई कठघरामा ल्याउन दलका नेताहरुले चाहनुपर्ने बताए । विदेशीको एजेण्डा बोकेर राजनीति गरेकोले देशमा अहिले आर्थिक संकट र राजनीतिक संकट निम्तेको पनि केसीको आरोप छ । ‘संघियता काम छैन भनेको मैले शुरु देखिनै हो’ उनले भने, ‘अहिले त धेरैले प्रदेश ठिक भएन, खारेज गरौं भनेका छन् ।’
केसीले काठेखोला, गलकोट, बरेङ, जैमिनी र बलेवा क्षेत्रमा पुगेर पनि भेटघाट तथा कार्यक्रम गर्ने योजनाका साथ गाउँ पसेका छन् ।