बागलुङ, २९ मंसिर– आगामी २०८१ को पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप विभिन्न चरणका काम भैरहेका छन् । बिहिबार बागलुङ नगरपालिका–१ ले सरोकारवालाको छलफल सम्पन्न गरेको छ ।
बिशेषगरी सहरी क्षेत्रमा बिद्यालयमा पढ्ने बालबािलका पनि विभिन्न वडा र पालिकाको हुने, घरघरमा डेरा गर्नेहरु विभिन्न जिल्लाको समेत हुँदा तथ्यांकमा समस्या पर्ने भएकोले एकरुपता कायम गर्न बैठक र सरोकारवालाबीचको छलफल गरिएको वडा अध्यक्ष जयबहादुर केसीले बताए ।
बैठकले बालमैत्री निर्देशिका सम्बन्धी आम नागरिकलाई सूचना प्रवाह गर्ने, वडा सदस्यसहित टोल समितिका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गर्ने निर्णय भएको छ । वडाभित्र विभिन्न टोल र क्षेत्र बनाएर वडा सदस्य तथा अन्य जिम्मेवार व्यक्ति सदस्य रहेको उपसमितिमार्फत बालबालिकाको तथ्यांक निकाल्ने, आम नागरिक र अभिभावकलाई बालमैत्री अवधारणाबारे जानकारी गराउने, कुनैपनि बालबालिकाको तथ्यांक नछुटाउने, नदोहो¥याउने र बालमैत्री अवधारणाका ५१ सूचक पुरा गर्न पहल गर्ने निर्णय भएको बालमैत्री सहजकर्ता सरिता शर्माले जानकारी दिइन् ।
भेलामा उपस्थितहरुले पुसको पहिलो साताभित्र वडा बाल संजाल समूह गठन गर्ने, बालमैत्री वडा समन्वय समिति गठन गर्ने र आम नागरिकको उपस्थितिमा घोषणा गर्ने निर्णय गरेको हो । तिथि मिति भने नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको समय तालिका मिलाएर घोषणा गरिने केसीले जानकारी दिए ।
सहरी क्षेत्रमा बालमैत्री शासनयुक्त नगर बनाउने काम जटिल भएकोले यो बिषयमा बढी मेहेनत गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका थिए । बैठकमा बिद्यालयका शिक्षक तथा प्रधानाध्यापक, समाजसेवी, सामाजिक अगुवाहरु, पूर्व तथा वर्तमान जनप्रतिनिधिहरु समेत सहभागि थिए ।