बागलुङ, १५ पुस– निलगिरी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले आर्थिक उपार्जनको क्षेत्रमा सहकारी क्षेत्रका सदस्यहरु लाग्नुपर्ने बताए । उनले सानो भएपनि उद्यम गरेर आयआर्ज्न बढाउने, स्वरोजगार बन्ने जस्ता का मगर्न सकेमा देशमा आर्थिक समस्या नआउने बताए ।
पछिल्लो समय सहकारीमा देखिएको समस्या पनि ऋण लगेर योजनाबद्ध काम नगर्नेहरुको कारण उब्जेको उनले टिप्पणी गरे । ‘जुन उद्देश्य हो त्यसैमा काम गर्दा बचत र ऋणले थप व्याज उत्पादन गर्छ’ थापाले भने, ‘उद्यम गरेपछि बजारीकरणमा सहकारीले साथ दिनुपर्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ सापकोटा, बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, जैमिनी नगरपालिका–७ का अध्यक्ष केन्द्र रसाइली, सहकारी संघका जिल्ला सचिव तेजप्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष नारायण पौडेलको अध्यक्षता, सचिव मिलन केसीको संचालन र उपाध्यक्ष चित्रबहादुर केसीको स्वागतमा सम्पन्न भएको साधारणसभामा सचिव केसी र कोषाध्यक्ष कृष्णप्रसाद शर्माले प्रस्तुत गरेको प्रगती र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । सहकारीले ५३ करोडको वार्षिक कारोवार गरेको जनाइएको छ ।
यसैबीच, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व सांसद मनकुमारी केसीले सहकारीहरु आर्थिक विकासमा सक्रिय बन्नुपर्ने बेला आएको बताइन् ।
कार्यक्रममा सहकारीका कानूनी सल्लाहकार ममतादेवी शर्माले सहकारीले आफ्नो नीति नियममा बसेर काम गर्न सकेमा कुनै समस्या नआउने भन्दै शिक्षक हित बचत तथा ऋण सहकारी पनि सफल बन्दै जानुपर्ने धारणा राखिन् । कार्यक्रममा अर्का कानू्नी सल्लाहकार डा. डिल्लीराज गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य टिकाराम सापकोटा, संगठनका हालका केन्द्रीय सदस्य गोबिन्द भण्डारी, बालुङ दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष दिपक गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठनकी जिल्ला अध्यक्ष गंगाकुमारी शर्मा, नेपाल शिक्षक संघका प्रतिनिधि ताराबहादुर बिकले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, सचिव होमनाथ गौतमको संचालन र उपाध्यक्ष महेन्द्रबहादुर कार्कीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सहकारीका कोषाध्यक्ष बालकृष्ण सापकोटाले गत आर्थिक बर्ष २४ लाखको कारोवार गरेको बताए । साधारणसभामा सचिव होमनाथ गौतमले प्रगती बिवरण पेश गरेका थिए ।