बागलुङ, १९ पुस– सातौं बागलुङ महोत्सवमा आयोजित खुला पुरुष भलिबलको फाइनलमा गलकोट र ताराखोला भिड्ने भएका छन् । बिहिबार भएको सेमीफाइनल खेलमा गलकोट नगरपालिकाले ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकाले होटल माउन्टेन भ्यूलाई पराजित गरेर फाइनल यात्रा तय गरेका हुन् ।
जिल्लाकै सशक्त मानिएको गलकोटलाई ढोरपाटनले दवाव दिएको थियो । धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा उपस्थित सयौं दर्शकको ताली र हुटिङका बीच गलकोटले ढोरपाटनलाई पराजित गरेर छाड्यो । दबावका बीच पहिलो खेलमै ढोरपाटनसँग पराजित भएपछि गलकोटको पक्षधरहरु स्तब्ध भएका थिए ।
पहिलो खेलमा ढोरपाटनले गलकोटलाई २३–२५ अंकले पराजित गरेको थियो । त्यसपछि आक्रामक खेल प्रर्दशन गर्न थालेको गलकोटले दुई खेल लगातार जित्यो । २५–१९ र २५–२० अंकमा गलकोटले जित हात पारेपनि बेष्ट ५ खेलमा त्यो जितका लागि पर्याप्त भएन । चौथो खेल पुन ढोरपाटनले जित्यो । ढोरपाटनले २५–१५ को अंकमा जितलाई बराबरी बनाएपछि पाँचौ खेल जित्नै पर्ने दबावमा परेको गलकोटले अन्तिम खेलमा १५–१२ अंकले जित निकालेको हो ।
बिहिबारै भएको पहिलो खेलमा भने ताराखोला गाउँपालिकाले होटल माउन्टेन भ्यूलाई पराजित गरेर फाइनल पुगेको थियो । ताराखोलाले २५–२१, २५–१७, २०–२५, २९–३१ र १५–१० को अंकले जित निकालेको हो । ताराखोलाले बागलुङकै निसीखोला गाउँपालिकालाई २७–२५, १९–२५,२५–२३ र २५–२१ को अंकले पराजित गरेर सेमीफाइनल यात्रा गरेको थियो ।
ढोरपाटन नगरपालिकलो बागलुङ नगरपालिकाको तित्याङ खेलकुद समितिलाई २५–२०, २८–२६ र २५–२१ अंकले पराजित गर्दै सेमीफाइनलमा गलकोटसँग भिड्न पुगेको थियो । शुक्रबार तेस्रो स्थानका लागि ढोरपाटन नगरपालिका र होटल माउन्टेन भ्यू भीड्ने भलिबल खेल संयोजक किशोर छन्त्यालले जानकारी दिए ।