बागलुङ, २५ पुस– नेकपा एमाले बडिगाड गाउँ कमिटिले बडिगाड गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गम्भिर लापर्वाही गरेको भन्दै तत्काल सुध्रिन आग्रह गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखामार्फत विद्यालयमा वितरण गर्ने आइरन चक्की (फोलिक एसिड) तथा अन्य औषधि र सेनेटरी प्याडको सन्दर्भमा विभिन्न मिडियामा आएका समाचार र गाउँपालिकाको गैरजिम्मेवार जवाफको कारण गाउँपालिकाकै बद्नाम भएको भन्दै तत्काल सच्याउन आग्रह गरेको हो ।
एमाले बडिगाड गाउँ कमिटि अध्यक्ष कमलराज आचार्यले विज्ञप्ती जारी गर्दै म्याद सकिएको औषधि वितरण गरेको सार्वजनिक रुपमा पुष्टि हुँदा पनि पालिकाले आवश्यक कुनै कार्वाही अगाडि नबढाएको र सम्वद्ध व्यक्तिहरुबाटै गैरजिम्मेवार जवाफ आउनु आफैमा दुखद् भएको उल्लेख गरेका छन् ।
पालिकाभित्रकै जिम्मेवार व्यक्ति स्वास्थ्य जस्तो गम्भिर विषयमा सामाजिक सञ्जालमा क्रिया प्रतिक्रियामा उत्रनु लज्जाजनक बिषय भएको भन्दै एमालेले विभिन्न प्रक्रियाको बहानामा छात्राहरुले सेनेटरी प्याड नपाउनु अन्याय मात्रै नभएर स्वास्थ्य अधिकारकै हनन भएको ठहर गरेको छ । एमालेले पालिकाका घटनाक्रमलाई गम्भिरतापूर्वक हेरेको भन्दै लापर्वाही अन्त्य गर्दै जनपक्षिय काम नगरे थप संघर्षका कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।
विज्ञप्तीमार्फत एमालेले बडिगाड गाउँपालिकाबाट निरन्तर भैरहेका गैरजिम्मेवार रवैयालाई गाउँपालिकाले तत्काल छानविन गरी दोषीउपर कार्वाही गर्न र स्वास्थ्य तथा शिक्षाजस्ता विषयमा निरन्तर भैरहेका लापर्वाही अन्त्य गर्न ध्यानाकर्षण गरेको छ ।