बागलुङ, ६ माघ– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बडिगाड गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै बडिगाड छात्रा भलिबल च्याम्पियन भएको हो ।
बडिगाडले बागलुङ नगरपालिकालाई २५–१६ र २५–१५ को सेटमा पराजित गरेको भलिबल संयोजक किशोर छन्त्यालले जानकारी दिए । फागुन दोश्रो साता हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरुले खेल्ने छन् । छात्र तर्फको भलिबल फाइनल भने आइतबार मात्रै हुनेछ । शनिबार सबै खेल नसकिए पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जित्ने पक्कापक्की छ ।
एथलेटिक्सतर्फ बानपाले १४ स्वर्ण ५ रजत र ५ कास्य जितेको छ । त्यसबाहेक उसुतर्फ ७ स्वर्ण र ३ रजत तथा भलिबल तर्फको १ रजत पदक हात पारिसकेको छ । कुल ६६ स्वर्ण पदकमा काठेखोला र निसीखोलाले समान ४÷४ स्वर्ण, जैमिनीले ३ स्वर्ण र गलकोटले १ स्वर्ण पदक हात पारेको छ । छात्रछात्राको कबड्डी, तेक्वान्दो र कराँते तथा छात्र भबिललको पदक आइनसकेको खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए ।