बागलुङ, ७ माघ– बाह्रौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागलुङ नगरपालिकाले हात पारेको छ । कुल ६६ स्वर्ण, ६६ रजत र १ सय २ कास्य पदकका लागि भएको खेलमा बागलुङले २७ स्वर्ण पदकसहित प्रथम स्थान पाएको हो । बागलुङ नगरपालिकाले १९ रजत र १६ कास्य पदक समेत जितेको छ ।
यो उपाधिसँगै राष्ट्रपति रनिङ शिल्ड बागलुङ नगरपालिकाले भित्राएको हो । यसअघि पनि नवौं, दशौं र एघारौं राष्ट्रपति कप समेत बागलुङ नगरपालिकलो जितेको थियो । तीनपटक जितेर आफ्नै बनाएपछि फेरी दोश्रो पटकको पहिलो शिल्ड बागलुङले भित्राएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए ।
बागलुङले सबैभन्दा धेरै एथलेटिक्समा १४, उसुमा ७, कराँते र तेक्वान्दोमा ३÷३ स्वर्ण पदक जितेको थियो । १२ स्वर्ण, १४ रजत र १३ कास्य पदक जितेर बडिगाड गाउँपालिका दोश्रो भएको छ । बडिगाडले तेक्वान्दोमा ४, करातेमा ३, कबड्डीमा २, उसुमा २ र भलिबलमा १ स्वर्ण पाएको हो ।
ढोरपाटन नगरपालिका ६ स्वर्ण, १ रजत र ५ कास्यसहित तेस्रो भयो । निसीखोलाले ५ स्वर्ण, १० रजत पदक जित्न सफल भयो । काठेखोलाले ५ स्वर्ण, ६ रजत पदक जित्यो । जैमिनी नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्यो ।
गलकोट नगरपालिकाले ३ स्वर्ण, ६ रजत र ८ कास्य पदक पायो । ३ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्न सफल भयो । बरेङले १ स्वर्ण, २ रजत र ५ कास्य हात पा¥यो भने तमानले १ कास्य पदक मात्रै पायो ।
फागुन दोश्रो साता नवलपुरमा हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरुले खेल्ने छन् । खेलमा दश पालिकाका ४ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
छात्र भलिबल बरेङको पोल्टामा
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्र भलिबल बरेङ गाउँपालिकाले जितेको छ । आइतबार दिउसो भएको खेलमा बरेङले निसीखोला गाउँपालिकालाई २५–१७ र २५–१९ को सोझो सेटमा पराजित गरेको हो ।
बरेङले भलिबल तर्फको स्वर्ण पदक, ट्रफि र प्रमाणपत्र पायो । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेलले बिजयी खेलाडीलाई ट्रफि प्रमाणपत्र बितरण गरे ।
फाइनल यात्राका लागि निसीखोलाले काठेखोला गाउँपालिकालाई २५–१७, २५–२५ र २६–२४ को सेटमा पराजित गरेको थियो । त्यस्तै बरेङले ताराखोलालाई सोझो दुइ सेटमा पराजित गरेको थियो । बरेङले २५–१६ र २५–२० को सेटमा जित निकालेर फाइनल यात्रा तय गरेको थियो ।