बागलुङ, २१ माघ– गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेको भन्दै बागलुङमा खुसीयाली मनाईएको छ । माघ १८ गते गण्डकी प्रदेश राजपत्रमा प्रकाशित नियमावलीमा यस अघी हलुका सवारी चालकका लागि दिईंदै आएको दुई जिल्लाको स्थायी रुड प्रमिटको व्यवस्था राखिएको छैन् ।
यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०४९ ले गरेको व्यवस्थाका कारण मर्कामा पर्दै आएका व्यवसायीले स्थायी रुट प्रमिट पाउने भएपछि खुसीयाली मनाएका हुन् । धौलागिरी यातायात सेवा प्रा.लि.को संयोजनमा हलुका सवारी व्यवसायीहरुले शनिबार साँझ लोकतान्त्रीक चोकमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएका हुन् ।
व्यवसायीले हलुका सवारीहरुको र्याली गर्दै लोकतान्त्रीक चोकमा पुगेर दिपावली गरेका थिए । गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिँदै व्यवसायी कपिल शर्माले प्रदेश सरकारले व्यवसायीलाई न्याय गरेको बताए । यसअघी दुई जिल्लाका लागि मात्रै स्थायी रुट प्रमिट पाउने सवारी साधनले दुई जिल्ला बाहिर जाँदा अस्थायी रुट प्रमिट (पटके) काट्नुपर्ने व्यवस्था थियो ।