बागलुङ, २५ माघ– न्यू एभरेष्ट एकेडेमीले (आधारभुत तह) विद्यालय स्तरीय फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विगतमा जस्तै १८ औं वार्षिकोत्सव एवं अभिभावक दिवसको पुर्व सन्ध्या विद्यालयले गर्ने बिबिध प्रतियोगितात्मक कार्यक्रम अन्तरगत फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आगामि माघ २६ र २७ गते अन्तर विद्यालय आधारभुत तह (कक्षा –७) स्तरिय फुटसल प्रतियोगिता आयोजना गरेको प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी दिए । एभरेष्ट कप फुटसल प्रतियोगितामा सम्बन्धित तहसम्म अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन पाउने छन् । विद्यार्थी मैत्री वातावरणमा सिर्जनात्मक र रचनात्मक आन्तरिक खेल सहित साँस्कृतिक नृत्य प्रतियोगिता र अन्तर मावी स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयले जनाएको छ ।
फुटसल खेलको उद्घाटनसङ्गै वार्षिकोत्सब सुरु हुने छ । विद्यालयले आयोजना गर्ने यस वर्षको वार्षिकोत्सब माघ ५ गते मुल समारोहका बिच समापन हुने छ । “खेल नै जीवन हो“ भन्ने मुल नारालाई आत्मसाथ गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरुमा रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्ने र विद्यालय उमेरका विद्यार्थीहरुमा खेलप्रतिको थप रुचि उत्पन्न गराउनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाइ छ ।
प्रतियोगितामा आयोजक न्यू एभरेष्ट एकेडेमीका २ टिमसहित बागलुङ बजार क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने करिब डेढ दर्जन बढी विद्यालयका प्रतियोगी विद्यार्थी समूहहरुका बिच प्रतिस्पर्धा हुनेछ । रस आवर फुटसल बानपा ३ गुठीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेता र उपविजेता समुहलाई क्रमशः १२ हजार ७ सय ७७ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।