बागलुङ, ५ फागुन– धौलागिरि बहुमुखी क्याम्पसको ६१ औं वार्षिकोत्सवको अबसरमा शनिबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
शनिबार छात्र तर्फको भलिबल र फुटबल तथा छात्रा तर्फको कबड्डी प्रतियोगिता संचालन भएका हुन् । छात्र भलिबल बिएड संकायले जितेको छ । कुल ६ टिमले भाग लिएको भलिबलमा बिएडले बिबिएस चौथो बर्षलाई ३–१ को सेटमा खेल जितेको अफिसियल रेफ्री प्रकाश थापाले जानकारी दिए । फाइनल प्रवेशका लागि बिएडले क्यामपसको छात्रावास समूहलाई र बिबिएसले बिबिएसकै प्रथम बर्षलाई पराजित गरेको थियो ।
शनिबारै भएको छात्र फुटबलतर्फ ४ खेल सम्पन्न भएका छन् । ती खेलबाट बिबिएस चौथो बर्ष, बिबिए निलो, बिबिएस प्रथम बर्ष, बिएससी दोश्रो चरणमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा बिबिएसले छात्रावासलाई ९–० गोल, बिबिएले एमबिएसलाई ५–० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै, बिबिएस प्रथम बर्षले चौथो बर्षलाई १–० र बिएससीले बिबिएस प्रथम बर्षलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गरेको स्वतन्त्र बिद्यार्थी युनियनका सभापति सुदिप सागर कंडेलले बताए । फुटबलका बाँकी खेल, छात्रा भलिबल तथा कबड्डीका खेलहरु आइतबार पनि संचालन हुने उनले जानकारी दिए ।
क्याम्पसले विभिन्न कार्यक्रमसहित फागुन ८ गतेसम्म वार्षिकोत्सव गर्ने तालिका सार्वजनिक गरेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए ।