बागलुङ, ६ फागुन– धौलागिरि बहुमुखी क्याम्पसको ६१ औं वार्षिकोत्सवको अवसरमा क्याम्पस परिवार र नेपाल पत्रकार महासंघ बागलुङ शाखाबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा नेपाल पत्रकार महासंघले ०–१ गोलले क्याम्पसलाई पराजित गरेको छ । निर्धारत समयमा गोलरहित बराबरी खेल भएपछि थप गरिएको दोश्रो हाफमा पत्रकार महासंघको तर्फबाट संगम घर्तीले गोल गरेका थिए ।
यसअघि विद्यार्थीहरुको संकायगत फुटबल र भलिबल प्रतियोगिताहरु संचालन भैरहेका छन् । भलिबल र कबड्डीतर्फ छात्रछात्रा र फुटबलतर्फ छात्रहरुको मात्र खेल भैरहेको स्वतन्त्र बिद्यार्थी युनियनका सभापति सुदिप सागर कंडेलले बताए ।
वार्षिकोत्सवकै अवसरमा क्याम्पसमा रक्तदान, खोखो र हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भएका छन् । फागुन ८ गते मुल समारोहबीच पुरस्कार बितरण र प्रवचन कार्यक्रम गर्ने क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।