बागलुङ, ६ चैत्र– जिल्लाको बरेङले घरमा हुने प्रसूति शून्य गाउँपालिका घोषणाको तयारीलाई तीब्रता दिएको छ ।
प्रसूति शून्य गाउँपालिका घोषणाको अन्तिम तयारी स्वरुप पालिकाले वडा नं. ५ सुखौरामा रहेको स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरेको हो । आमा र शिशुको जीवनरक्षाको लागि घरमा हुने प्रसूति शून्य गाउँपालिका घोषणाको तयारी तीब्र पारिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
पालिकाले यसभन्दा अघि अन्य चारवटै वडामा बर्थिङ सेन्टर निर्माण गरिसकेको छ । शर्माले बर्थिङ सेन्टरबाट हुने सेवालाई दीगो र गुणस्तरीय बनाइने बताउँदै चालु आर्थिक बर्षभित्रै पालिकालाई घरमा हुने प्रसूति शून्य पालिका घोषणा गरिने बताए ।
स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले घरमा हुने प्रसूति शून्य गाउँपालिका घोषणाको लागि आफुहरु लागि परेको बताए ।
सुखौरामा बर्थिङ सेन्टर स्थापना भएसँगै पालिकाका पाँचवटै वडामा बर्थिङ सेन्टर बनिसकेको उनको भनाई थियो । पालिका भित्रका सबै गर्भवती महिला प्रसूति हुनको लागि बर्थिङ सेन्टर पुगेकोले पनि घरमा हुने प्रसूति शून्य पालिका घोषणाको लागि आधार तयार भएको पुनले बताए ।