बागलुङ, २ बैशाख– दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सकिएको छ । गाउँपालिकाको आयोजना र पालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।
भीमापोखराको अक्षेते बजारमा सम्पन्न वडास्तरीय पुरुष भलिबलको उपाधि तंग्रामले जितेको छ । रेश उपविजेता बन्यो । विजेता तंग्रामले १ लाख, उपविजेता रेशले ६० हजार र तृतियले ३० हजार प्राप्त गरेका छन् । दोस्रो काठेखोला लोकतारा (गायन) मा धम्जाकी अनिता थापा प्रथम भईन् । उनले ३० हजार प्राप्त गर्दा फष्ट रनर अपले २० र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरेको काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले जानकारी दिए ।
यस्तै, गजल प्रतियोगितामा प्रथम बनेका तंग्रामका चन्द्र बहादुर आले ‘बिष्णु’ ले १५ हजार प्राप्त गरेका छन् । सामूहिक नृत्यमा तंग्राम प्रथम भयो । उसले २० हजार हात पार्दा ताराखेल ताराखोला गाउँपालिकाको समुह प्रथम भयो भने ब्याडमिन्टन प्रतियोगितामा मिनबहादुर गुरुङ र दुर्गाबहादुर पुनको समुह प्रथम बनेको विकले बताए ।
ताराखेल विजेताले ५० हजार र व्याडमिन्टनको विजेताले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजित गरेको थियो । १३ औं गाउँसभाबाट ५ लाख र १४ औं गाउँसभाबाट १५ लाख रुपैयाँ विनियोजित गरिएको प्रमुख प्रशासकिय अधिकृत खगराज गौतमले जानकारी दिए ।
यस्तै, काठेखोला प्रतिभा सम्मान–२०८० बाट साहित्यतर्फ दिल शिरिष, संगीततर्फ हेमराज आश्रम र खेलकुदतर्फ कृष्ण प्रसाद कँडेल सम्मानित भएका छन् । उनीहरुलाई जनही ३० हजार नगदसहित सम्मान गरिएको थियो । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रका प्रतिभाको संरक्षण, सम्वद्र्वन र प्रवद्र्वन गर्ने उद्देश्यले अध्यक्ष कप आयोजना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा प्रचलित एवम् पौराणिक कला, संस्कृतिको संरक्षण, सम्वद्र्वन एवं प्रदर्शन गरिएको बताए । प्रतियोगिताबाट पालिकामा रहेका संगीत र जनजाति संग्रहालयको थप प्रचार प्रसार भएको थापाको विश्वास छ ।