बागलुङ, १३ पुस – बागलुङ बजारलाई व्यवस्थापन गर्न सवारी साधनको पार्किङ गर्ने स्थान बनाइने भएको छ । त्यसका लागि नगरपालिकाले उचित स्थानको खोजी गरिरहेको नगरप्रमुख जनकराज पौडेलले बताए ।
बजारलाई व्यवस्थित बनाउन जिप, ट्याक्सी र मोटरसाइकलको पनि उचित पार्किङ स्थल चाहिएको उनको भनाई छ । नगरपालिकाले मात्र चाहेर नहुने भएकोले सरोकारवाला पनि जाग्नुपर्ने उनले बताए । बजार व्यवस्थापनका लागि सरोकारवाला बीचको छलफल कार्यक्रममा पौडेलले नगरपालिकाको अभियानमा सबैको साथ समेत चाहिएको बताए ।
‘पहिला कति अव्यवस्था थियो, केही परिवर्तन ल्याउन सक्यौं’ पौडेलले भने, ‘अझै धेरै काम गर्न बाँकी छ, त्यसमा सबैको चासो र सहयोग चाहिन्छ ।’ उनले बजारमा अलपत्र परेको धेरै सडक सुधार गरेको, चोकहरु फराकिलो भएको र नाली व्यवस्थापन गरेर देखाएको दाबी गरे ।
कतिपय काम भने प्रदेश र संघबाट भैरहेको अवस्थामा भएको अस्तव्यस्तताले आत्तिएका नागरिकले नगरपालिकालाई आरोप लगाउने गरेको पौडेलले टिप्पणी गरे । ‘ट्राफिक व्यवस्थापन, ढल तथा सडक निर्माण, पार्क व्यवस्थापन जस्ता काममा नगरपालिकलो चाहेर मात्रै हुँदैन’ उनले भने, ‘सबै संस्थाको बजेट, कार्यक्रम र समन्वय आवस्यक छ ।’ समन्वय अभावमा कतिपय स्थानमा काम अलपत्र परेको उनले सुनाए ।
खानेपानीले सडक खन्ने, बनाउने बिषयमा समन्वय नहुने, बिद्युतले पोल ढाल्ने, गाड्ने बेलामा सडक भत्कनेजस्ता त्रेरै क्रियाकलाप बजार व्यवस्थापनमा बाधक बनेको पौडेलको आरोप छ ।
सोमबार जिल्ला ट्राफिक कार्यालय बागलुङले बजार व्यवस्थापन सम्बन्धी सरोकारवालाको भेला राखेको थियो । उक्त भेलामा उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बजारको सुरक्षाका लागि सिसि क्यामेरा जोड्ने काम गर्नुपर्ने धारणा राखे । साथै अस्तव्यस्त पार्किङ घटाउने बिषयमा तत्काल काम गर्नुपर्ने भन्दै नगरपालिकाको ध्यानाकर्षण गराए ।
ट्राफिक प्रमुख बद्रीप्रसाद तिमिल्सिनाले ट्याक्सी पार्क, हेबि गाडीको व्यवस्थापन, ट्राफिक कार्यालय निर्माण, राजमार्गमा गुड्ने गाडिलाई बजार प्रवेशमा रोक लगाउने तथा बसपार्कहरु व्यवस्थित बनाउने जस्ता १५ बुँदे प्रस्तावना पेश गरेका थिए । ती प्रस्तावलाई सबैले चासोका साथ पुरा गर्न सकिने बताए ।
चालकलाई परिचयपत्र वा पोशाकको व्यवस्था गर्न सकिने बिषयमा पनि छलफल भएको थियो । तर केही समय अघि व्यवस्था गरिएका पोशाकमा प्रहरीका अगुवाले नै बजार मूल्यभन्दा बढीमा बिक्री गरेको, कमिसन खाएको आरोपसमेत लागेको छ ।
कार्यक्रममा बानपा–२ का अध्यक्ष जीवन आचार्यले बजार व्यवस्थापनको पाटो धेरै अप्ठ्यारो भएको भन्दै चुस्त अनुगमन समिति र कार्ययोजना चाहिने बताए । ‘बजेटले मात्रै हुँदैन, त्यसैले चुस्त व्यवस्थापन चाहिन्छ’ उनले भने, ‘नियम नमान्ने प्रवृत्तिले विकृति जन्माएको छ ।’ अघिल्ला दुई आर्थिक बर्षसम्म बजेट भएर पनि खर्च गर्न कठिन भएको भन्दै बजार क्षेत्रको ट्राफिक, बिद्युत पोल, चोक सुधार जस्ता काममा सरोकारवालाको एकीकृत कार्यक्रम चाहिने बताए । अघिल्ला दुई बर्ष चोक सुधार तथा व्यवस्थापनको झण्डै ८० लाख रकम फ्रिज भएको उनले बताए ।
धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले व्यवस्थित बसपार्क अभाव भएको बताए । जिप व्यवसायीको तर्फबाट अध्यक्ष बिष्णुप्रसाद अधिकारी, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ तथा ट्राफिक प्रमुख बद्रीप्रसाद तिमिल्सिना लगायतले बजार व्यवस्थापनका बिकल्पहरु प्रस्तुत गरेका थिए ।
छलफलपछि चुस्त समितिले बुँदागत रुपमा कार्ययोजना बनाउने, उक्त कार्ययोजना अनुसार काम भए नभएको नियमित अनुगमन गर्ने र बजार व्यवस्थापनमा अघि बढ्ने प्रतिवद्दता जनाइएको तिमिल्सिनाले जानकारी दिए ।