बागलुङ/सडक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बागलुङको निसीखोला गाउँपालिकामा २ जना मजदुरको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नंं ३ बोहोरागाउँमा सडक खन्ने क्रममा तीन जना मदजदुर पुरिएकोमा एकजनालाई जिवितै उद्दार गरिएको प्रहरीले बतायो ।
मृत्युहुनेमा सल्यान घर भइ सडकमा काम गर्दै आएका मजदुर २८ बर्षिय लालबहादुर बुढाथोकी र उदयपुर घर भइ सोही स्थानमा काम गर्दै आएका ३२ बर्षिय राजु थापाको मृत्यु भएको हो । वडा अध्यक्ष रमेश बिक्रम शाहीले मृतकको सनाखत समेत गराएका छन् । गम्भिर घाइते रोल्पाका कृष्ण घर्तीलाई उपचारकालागि बुर्तिवाङ पठाइएको छ ।
सोमबार बिहानै बोहोरागाउँ देखि काप्रा छापाखानी हुँदै प्युठान जोड्ने सडक खन्ने काम भैरहेको थियो । केही दिन अघि बोहोरागाउँकै कानाबगरमा पहिरो खस्दा एकै घरका चार सहित ५ जनाको मृत्यु भएको थियो । अबिरल बर्षातले बाढी आएपछि झिवाखोलामा दर्जनौ घर पुरिएका थिए । उक्त घटना सेलाउन नपाउँदै अर्को सडक खन्ने क्रममा मजदुरहरुको मृत्यु भएको हो । घटना बारे प्रहरीले थप अनुसन्धान गर्दै छ । सडक खन्ने क्रममा जेसिबी चालक भद्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।