त्यहीबेला गनीले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र उनकी पत्नीलाई देश छाड्ने अनुमति दिए। त्यसपछि रक्षा मन्त्रालय जाने कार पर्खिन थाले।
‘तर, कार आउँदै आएन। बरु आतंकित भएर राष्ट्रपतीय सुरक्षा टोलीका प्रमुखले फोन गरे– तपाईंले अडान लिनुभयो भने हामी सबै मारिनेछौँ,’ गनीको भनाइ छ, ‘उनले मलाई दुई मिनेटभन्दा बढ्दा समय पनि दिएनन्। काबुल छाडेर कोस्त सहरतिर जाने बन्दोबस्त गर्नू भन्ने मेरो निर्देशन थियो। तर, कोस्त सहरमा तालिबानले कब्जा जमाइसकेको उनले बताए। जलालाबादको हाल पनि उही थियो।’
‘हामी कता जान्छौँ, मलाई थाहा थिएन। जब विमान उड्यो, तब मात्रै स्पष्ट भयो– हामी अफगानिस्तान छाडेर जाँदैछौँ। त्यसैले सब अपर्झट भयो,’ उनले भनेका छन्।
‘पैसा लिएर भागेको होइन, बलिको बोको बनाइयो’
उनी भागेपछि गनीले ठूलो मात्रामा पैसा पनि लगेको आरोप लाग्यो। सो आरोपको खण्डन गर्दै उनले यसविषयमा अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह गरे। ‘म स्पष्ट रुपमा भन्न चाहन्छु– मैले मुलुकबाट पैसा बाहिर लगिनँ। मेरो जीवनशैली कस्तो छ, सबैलाई थाहा छ। पैसा लिएर मैले के गर्नु?’ उनले भने।
अफगानिस्तानमा आफ्नो तर्फबाट केही गल्ती भएको उनले स्वीकारे। तर, अमेरिका र तालिबानबीच भएको सम्झौताका कारण सिंगो मुलुक तालिबानको हातमा गएको उनको दाबी छ। ‘शान्तिप्रक्रियाको सट्टामा हामीले फिर्तीप्रक्रिया पायौँ,’ गनी भन्छन्, ‘जब अमेरिका र तालिबानबीच सम्झौता भयो, तब हामी नामेट भयौँ।’
२०२० को फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानबाट विदेशी सेनाको संख्या कटौती गर्ने, कैदी साटासाट गर्ने र तालिबानले अफगान सरकारसँग वार्ता गर्नेलगायतका सम्झौता भएको थियो। तर, २०२१ को गर्मीमा अमेरिकाले सेप्टेम्बर ११ भित्रमा सेना फिर्ता गरिसक्ने घोषणा गर्यो।
यससँगै तालिबान एकपछि अर्को सहर कब्जा गर्दै काबुलतिर बढ्न थाल्यो। ‘अन्त्यमा राजनीतिक सहमति वा जनताको सहभागितामा राजनीतिक प्रक्रियाको सट्टा हिंसात्मक कू भयो,’ गनी भन्छन्।
काबुल तालिबानको हातमा गएको तीन महिनापछि गनीले अन्तर्राष्ट्रिय साझेदारहरुसँग भर पर्नु आफ्नो गल्ती भएको बताए।
‘काबुलको पतनका लागि केही दोष म पनि लिन्छु। जस्तै, अन्तर्राष्ट्रिय साझेदारीमा भर पर्नु।’ ‘मेरो सारा जीवनको काम सर्वनाश भयो। मेरा मूल्यमान्यताहरु नष्ट भए,’ उनले थपे, ‘र मलाई बलिको बोको बनाइयो।’