बागलुङ, १६ पुस – जिल्लाको काठेखोला गाउँपालिकाको दशौं गाउँसभा बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । हिउँदे अधिबेशनका रुपमा लिईने गाउँसभा प्रतिवेदन र प्रस्तावहरुमा छलफल गर्दै शुक्रबार सकिएको हो ।
‘आवश्यक कानुन तयार भएर कार्यान्वयनमा छन्, प्रदेश र संघीय कानुन नबनेका कारण कतिपय कानुन बनाउन सकिएको छैन्’ गाउँपालिका अध्यक्ष अमर थापाले भने ‘हिउँदे अधिबेशन, गाउँसभाले कामको समिक्षा, उपलव्धीको मुल्याकंन र बाँकी कार्याकालका लागि योजना बनाएको छ ।’
वडा नं. ६ बिहुँको सभाहलमा भएको गाउँसभामा गाउँपालिका अध्यक्ष अमर थापाले प्रस्तुत गरेको १० पृष्ठ लामो प्रगति प्रतिवेदन तथा उपाध्यक्ष अर्जुनबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन लगायतका प्रस्तावहरु गाउँसभाले पारित गरेको छ । गत असोजमा भएको नवौं गाउँसभाले पारित गरेको बजेटको आकार दशौं गाउँसभाले बढाएको छ ।
५३ करोड ३१ लाख रुपैयाँको बजेटमा डेढ करोड रुपैयाँ सञ्चित कोषको रकम थप भएपछि बजेटको आकार बढेको हो । सञ्चित कोषमा जम्मा भएको झण्डै डेढ करोड रुपैयाँ थप भएको संशोधन प्रस्ताव गाउँसभाले पारित गरेको हो ।
आठ वडा रहेको गाउँपालिकाले थपिएको बजेटबाट प्रत्येक वडामा दश लाखको कुनै एक योजनामा मात्रै काम गर्नेगरी बजेट बिनियोजन गरेको अध्यक्ष थापाले जानकारी गराए ।
गाउँसभाका सदस्यहरुले गाउँ कार्यपालिकाको प्रशासनीक भवन निर्माण हुन नसकेको बिषयमा प्रस्न उठाएका थिए । गाउँपालिकाले कार्यदल बनाएर जग्गा व्यवस्थापन र भवन निर्माणको काम गरिरहेको अध्यक्ष थापाले जानकारी गराएका थिए ।
गाउँसभामा विपत् व्यवस्थापन समितिका संयोजक खडक थापा, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक टिका संगम बि.क. विद्यालय समितिका संयोजक चित्रकला छन्त्याल, आर्थिक समितिका संयोजक युक्तप्रसाद कँडेल, सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले प्रतिवेदनमाथि आफ्ना भनाई राखेका थिए ।