काठमाडौं, १८ पुस – कर्णाली र वाग्मती प्रदेशका उपसभामुखहरू नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुवैको नाम केन्द्रीय सदस्यमा घोषणा गरेका हुन् । संसदीय अभ्यासमा सभाका सभामुख र उपसभामुख निर्वाचित भएपछि सम्बन्धित व्यक्तिले दलीय जिम्मेवारीबाट राजीनामा गर्ने गरेका छन् ।
त्यो अभ्यासविपरीत कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रीय सदस्य बनेका हुन् ।
घर्ती र तामाङ जनजाती महिला र जनजाती युवा कोटाबाट केन्द्रीय सदस्य बनेका हुन् । महाधिवेशनको बन्दसत्रमा दुवैको नाम छोटकरीमा वाचन गरिएको थियो ।
पी. घर्ती र आर. तामाङको नाम वाचन गरिएको थियो । दाहालले ‘किन यस्तो गरिएको हो ?’ भनेर हलमा प्रश्न गरेका थिए ।
उनैले फेरि ‘टेक्निकल परेको होला’ समेत भनेका थिए ।