९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
ठूला कमिटी बनाउन रोक, १७ सदस्यीय पदाधिकारी

एमालेका जनसंगठनको भद्रगोल मिलाइँदै


जनमञ्च संवाददाता
  • १९ पौस २०७८ , सोमबार

  • एमालेका जनसंगठनको भद्रगोल मिलाइँदै

    काठमाडौं, १९ पुस – नेकपा एमालेका भ्रातृसंगठनहरुको भद्रगोल मिलाउन मापदण्ड निर्माण थालिएको छ। माउपार्टी भन्दा ठूलो समिति बनाएर भद्रगोल पारिएपछि भातृ संगठनलाई एउटै मापदण्डभित्र ल्याउने काम अघि बढाइएको हो।

    एमालेको केन्द्रीय कमिटी भन्दा दोब्बर ठूला कमिटी बनाएर संगठन अस्तव्यस्त बनाइएको अवस्थालाई ट्र्याकमा ल्याउन जनसंगठन सञ्चालन निर्देशिकाको मस्यौदा नै तयार पारिएको हो।

    जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल नेतृत्वको कार्यदलले त्यस मापदण्डलाई सोमबार अन्तिम रुप दिएको छ। जसलाई अब जनसंगठन समन्वय समितिको बैठकमा पेश गरेर कार्यान्वयन गरिनेछ। अब यो समितिले पास गरेको मापदण्ड अनुसार एमालेका जनसंगठनहरुले फागुनभित्रमा आफ्नो महाधिवेशनबाट नयाँ नेतृत्व छान्ने छन्।

    कार्यदलकी उपसंयोजक एवम् एमाले केन्द्रीय सदस्य रचना खड्काले दिएको जानकारी अनुसार अब एमालेका कुनै पनि जनसंगठनले माउ पार्टीभन्दा ठूलो आकारको समिति बनाउन पाउने छैनन्।

    एमालेका २२ वटा जनसंगठनमध्ये कुनैमा हजारौँ सदस्य छन् भने कुनै सानो आकारका छन्। तर ती संगठनको कार्यसमिति भने मनलाग्दी र भद्रगोल शैलीमा ३ सय, ४ सय भन्दा धेरै सदस्य राखेर बनाइएको छ।

    ‘जनसंगठनहरुको भद्रगोललाई नियन्त्रण गरेर चुस्त र छरितो समिति निर्माणका लागि सबैमा साझा मापदण्ड लागु गर्न अन्तिम तयारी भएको छ’, खड्काले भनिन्, ‘हामीले मस्यौदालाई अन्तिम रुप दिए पनि फाइनल हुन बाँकी छ।’

    निर्देशिका बनाउने काम अहिले कार्यदलमार्फत चलिरहेको पनि उनले बताइन्। ‘कार्यदलले बनाएको मस्यौदालाई जनसंगठन समन्वय समितिको बैठकमा लाँदैछौँ। कार्यदलमा लगेर छलफल र आवश्यक परिमार्जनपछि यसलाई पास गर्छौँ’, उनले भनिन्, ‘हाम्रो नीति भनेको सबै जनसंगठनहरू संगठनात्मक रुपमा स्वायत्तता र नीतिगत रुपमा आबद्धता भन्ने हो। जनसंगठनमार्फत योग्य कार्यकर्ता उत्पादन गर्ने, नेतृत्व निर्माण गर्ने काम हुनुपर्छ। तर यी संगठन भद्रगोल हिसाबले चलेको देखेपछि ट्रयाक ल्याउन खोजेका हौँ।’

    एमालेले यसअघि मोर्चा-संगठनको नाम पाएका जनसंगठनहरू कार्यकर्ता उत्पादन गर्ने भन्दा भीड जम्मा गर्ने थलो भएको निचोड निकालेको थियो।

    त्यही अनुसार यो कार्यदलको पहिलो बैठकले सबै संगठनमा एकरुपता कायम गर्ने काम थालेको हो। ‘हाम्रा जनसंगठनमा कुनै मापदण्ड छैन। भीड जम्मा गर्ने मात्रै काम भएको छ। अब एकरुपता होस् भनेका हौँ’, उनले भनिन्, ‘हाम्रो नजरमा सबै संगठन समान हुन्। तर सदस्यताका हिसाबले कमिटी बनाइनु आवश्यक छ। यसलाई ख्याल गरेर मापदण्डसहितको निर्देशिका तयार हुँदैछ।’

    यस्तो हुन्छ कमिटी 

    यो कार्यदलले सबै २२ जनसंगठनको पदाधिकारी संख्या १७ जनामाथि लैजान नपाउने गरी निर्देशिका तयार पार्दैछ। एमालेको पदाधिकारी संख्या अहिले १९ छ।

    त्यस्तै गरी जनसंगठनमा वरिष्ठ उपाध्यक्ष नराख्ने गरी निर्देशिका बनाइँदैछ। जनसंगठनमा राजनीतिक र वैचारिक क्षेत्रको नेता अध्यक्ष र संगठनात्मक क्षेत्रको नेता महासचिव कायम गरेर यी दुई पदलाई नै कार्यकारी प्रणालीमा लैजाने तयारी भएको छ।

    पात्र दोहोरिन नदिने 

    कार्यदलले पार्टीको एउटै व्यक्ति अनेक संगठनमा रहने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने भएको छ। ‘एउटै व्यक्ति धेरै जनसंगठनमा रहने चलनलाई सुधार्ने गरी काम गर्दैछौँ’, खड्काले भनिन्, ‘एकातिर कार्यकारी पदमा रहेको व्यक्तिलाई अर्कातिर पनि जिम्मेवारी लिन नपाउने गरी मापदण्ड बन्दैछ।’

    समितिले सदस्यता संख्याका आधारमा र कार्यक्षेत्रका आधारमा जनसंगठनको कार्य समिति संख्या निर्धारण गर्ने भएको छ।

    समावेशी अभ्यास 

    समितिले जनसंगठनले कुनै पनि सार्वजनिक कार्यक्रममा गर्दा पुरुष नै पुरुषलाई मञ्चमा राख्न नपाइने अर्को नियम पनि ल्याउने तयारी गरेको छ।

    ‘हामीले जनसंगठनलाई समावेशी मापदण्डलाई पनि ख्याल गर्ने गरी निर्देशिका बनाउँदैछौँ। संगठनले सार्वजनिक कार्यक्रममा वक्ताका रुपमा कम्तीमा एकजना महिलालाई सहभागी गराउनै पर्नेछ। मञ्चमा पनि पुरुष-महिला समावेशी गरिनुपर्छ’, खड्काले थपिन्’, अतिथि ब्याच वितरण र स्वागतमा पनि पुरुष-महिला समान सहभागिताको कुरा राख्दैछौँ।’

    समिति जनसंगठनका नेताहरुले सार्वजनिक मञ्चमा बोल्दा पनि आफ्नो समुदाय र संगठनको कुरा मात्रै बोल्न पाउने भएका छन्। यो कार्यदलले सम्बन्धित जनसंगठनका नेताले सार्वजनिक मञ्चमा बोल्दा आफ्ना मुद्दाको वकालत गर्नुपर्ने गरी निर्देशिकाको मस्यौदालाई अन्तिम रुप दिँदैछ।

    अब पार्टीमा जस्तै एमालेका सबै जनसंगठनहरुले आफ्नो विधानमा एकतिहाइ महिला अनिवार्य सहभागी गराउनुपर्ने भएको छ।

    ‘पदाधिकारीमा पनि सबै प्रदेशबाट सहभागिताको ग्यारेन्टी हुनुपर्छ’, उनले भनिन्, ‘हरेक हिसाबले जनसंगठलाई चुस्त बनाउने गरी तयार भएको निर्देशिका जारी भएपछि त्यही अनुसार उनीहरुले फागुनभित्रमा महाधिवेशन गरिसक्नेछन्।’

    एमालेको जनसंगठन समन्वय संयन्त्र इन्चार्ज भानुभक्त ढकाल नेतृत्व कार्यदलमा रचना खड्का उपसंयोजक छन्। त्यस्तै नेताहरु गोकुल बाँस्कोटा, पार्वत गुरुङ, महेश बस्नेत, विष्णु रिजाल र माधव ढुंगेल सदस्य रहेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend