पोखरा, २२ पुस – भोली शुक्रबार नेकपा एमालेले देशैभर एकैचोटी १० औं जिल्ला अधिवेशन गर्दैछ । केन्द्रीय अधिवेशनमा अध्यक्ष केपी ओलीबाट प्रस्वावित पदमा असहमति जनाउनेहरुबीच प्रतिष्पर्धा भएसँगै जिल्ला तहमा पनि सर्वसम्मत नेतृत्वको पहल थालिएको छ ।
तर, जिल्लागत रुपमा आकांक्षी बढी हुँदा सर्वसम्मतिको ‘रटान’स्वयं केन्द्रीय नेताहरुको लागि पनि टाउको दुखाई बनेको छ । अर्कोतर्फ केन्द्रीय पदाधिकारीमा पुगेका नेताहरुले जिल्लामा आफू अनुकूलको नेतृत्व ल्याउन खोज्दा पनि सर्वसम्मतिभन्दा चुनावी प्रक्रियामा जाने सम्भावना बढेर गएको छ ।
गण्डकीबाट एमालेको उच्च तहमा पुगेका नेता हुन्, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । यसैगरी यहाँकी पद्मा अर्याल एमाले सचिव छन् । त्यसपछि एमालेमा शक्तिशाली मानिने संगठन विभाग प्रमुखमा कास्कीका खगराज अधिकारी रहेका छन् । गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच अघोषित प्रतिष्पर्धा छ । पार्टी विभाजन अघिदेखि नै दुवै ओली निकट हुन् तर उनीहरु एक–अर्कालाई प्रतिष्पर्धी मान्छन् ।
प्रतिष्पर्धा जिल्ला र नगर तहसम्म पनि पुगेको छ । आसन्न जिल्ला अधिवेशनमा उनीहरु दुबै आफू अनुकूलका व्यक्तिलाई अध्यक्ष बनाउने ध्याउन्नमा छन् । र,उनीहरुको ‘कुरुक्षेत्र’ बनेको छ–कास्की । कास्की अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य बनिसकेका छन् । उनी केन्द्रीय सदस्य हुँदा स्वभाविक रुपले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मनबहादुर गुरुङले पाएका छन् ।
तर,उनले कार्यवाहक पाउन पनि ठूलै संघर्ष गर्नुप¥यो । कृष्ण थापा एकपटक विदेश गए । विदेश जाँदा अध्यक्ष थापाले कार्यवाहकको जिम्मेवारी सचिव दामोदर वैरागीलाई सुम्पे । एमाले स्रोतका अनुसार त्यही तुषका कारण थापा र गुरुङको एक वर्ष बोलचाल नै भएन । थापा एमाले संगठन विभाग प्रमुख खगराज निकट हुन् भने गुरुङचाहिँ उपमहासचिव पृथ्वीसुब्बा । अहिले कास्कीमा पहिल्यै कार्यवाहक अध्यक्ष भएका वैरागी र अहिलेका कार्यवाहक गुरुङबीच चर्को प्रतिष्पर्धा देखिएको छ । दुबैले आफू अध्यक्षको उम्मेदवार भएको भन्दै प्रतिनिधिहरुसँग मत मागिरहेका छन् ।
‘सतहमा उनीहरु देखिए पनि भित्र भने यहाँ पिएस (पृथ्वीसुब्बा) र केएस(खगराज) कमरेडकै लडाइँ हो’,एमालेका एक वडा कमिटी अध्यक्षले भने,‘पछिल्लो समय पिएस हात धोएर लाग्दा कास्कीमा केएस कमजोर देखिनुभएको छ ।’ दुबैको लडाइँ प्रतिनिधि छनोट हुँदा वडासम्म पुगेको बताउँदै उनले थपे,‘वडाबाट राम्रो प्रतिनिधि लैजाऊँ भन्दा पनि यो कसको भन्ने कुरा आयो,अझ रमाइलो त के भने हिजो केएसतिर भएका युवाहरु त सबै पिएसतिर पो लागेछन् ।’
अहिले कास्कीमा प्रतिनिधि आफूतिर तान्ने र आफू बलियो भएको प्रमाणित गर्दै अध्यक्ष बन्ने होड चलेको छ । अध्यक्षमा दीपक पौडेल,वैनबहादुर क्षेत्री र जगन्नाथ बास्तोलाले दावी गरे पनि प्रतिष्पर्धा भने दामोदर र मनबहादुरबीच नै हुने भएको ती नेताले दावी गरे ।
‘वैरागी (दामोदर) कमरेड त्याग गरेको र सबैलाई मिलाउन सक्ने नेता हो तर उहाँ ठूलाको मारमा पर्ने देखियो’,ती नेताले भने,‘सहमति भयो भने मनबहादुर अध्यक्ष र उहाँ उपाध्यक्ष भएर होला, नभए चुनाव नै हुने देखियो ।’
कास्कीमा आफू अनुकूलका नेता च्याप्ने रोग अहिलेको हैन । पृथ्वीसुब्बाले कास्कीमा आफ्नो पकड बलियो बनाउन स्थानीय चुनावकै मानबहादुर जिसीलाई मेयरको उम्मेदवार बनाए । खासमा त्यो बेला कृष्ण थापा मेयरका आकांक्षी थिए । कुरा त्यत्तिमै रोकिएन ।
पृथ्वीसुब्बाले महाधिवेशन आयोजक कमिटीको अध्यक्षकै रुपमा पोखरा महानगरको अध्यक्षमा दीपक पौडेललाई ल्याए । शिक्षक पृष्ठभूमिका दीपक गएको कात्तिकमा भएको अधिवेशनमा अध्यक्ष हुने पक्कापक्कीजस्तै थियो । तर, खगराज समूह रुष्ट बन्यो । जम्बो आयोजक कमिटी बनाएर खगराजलाई माथ दिने तयारी गरेको पृथ्वीसुब्बा समूहलाई ५ जनाको उम्मेदवारीले सकस पा¥यो । अन्त्यमा विद्यार्थी राजनीतिबाट आएका दिलिप न्यौपानेलाई अध्यक्ष बनाएर पृथ्वीसुब्बा समूहले उपाध्यक्षमा चित्त बुझायो ।
‘नगरमा हारेको रिस फेर्न पनि यतिबेला पिएस समूह कस्सिएर लागेको छ’,एमालेका अर्का नेताले भने,‘केएसले पनि आफूसँग जुध्नेलाई देखाइदिने भन्दै सम्पूर्ण शक्ति लगाएकाले यहाँ अनौठो दृष्य देखिएको छ ।’ त्यस्तो परिस्थितिमा अध्यक्षमा तेस्रो व्यक्ति अर्थात् दीपक पौडेलको ‘इन्ट्री’ भयो भने आश्चर्य नमान्न पनि उनले सुझाए ।
त्यसो त, हालका गण्डकी अध्यक्ष नवराज शर्माले पनि कास्की एमालेको राजनीति बिग्रिएको स्वीकारेका छन् । उनले सार्वजनिक संचार माध्यममा भनेका छन्,‘कास्कीबाट अन्य जिल्लाले सिक्नुपर्नेमा यहाँकाले अन्यत्रबाट सिक्नुपर्ने देखिएको छ ।’ एमाले कास्कीको उपाध्यक्ष, सचिव र २ उपसचिवको लागि पनि थुप्रै आकांक्षीहरु देखिएका छन् । अध्यक्षका दावेदारहरु उपाध्यक्षमा झर्ने सम्भावना छ भने सचिवमा प्रत्यासीहरुले भोट माग्ने काम गरिरहेका छन् ।
स्याङ्जामा ४ जनाको दावी. को रोज्ने भन्ने संकटमा सचिव पद्मा !
‘बादल’हावी भए पारस नत्र पौडेलको पल्ला भारी
एमाले स्याङ्जाको अध्यक्षमा ४ जनाले दावी गरेका छन् । अध्यक्षका लागि वहालवाला सांसद नारायणप्रसाद मरासिनी, हालका अध्यक्ष सूर्यप्रसाद गैरे, जिल्ला सचिव सुधीरमार पौडेल र क्षेत्र नं २ का अध्यक्ष कृष्ण खाणँले दाबी गरेका हुन् । अन्य पदाधिकारीमा आकाक्षी पनि उत्तिकै छन् तर अध्यक्ष दावेदारी गरेका चारै जनाले आफैले जित्ने दावी गरिरहेका छन् ।
स्याङ्जामा को अध्यक्ष बन्ने भन्नेमा पनि सचिव पद्मा अर्याल फ्याक्टरले काम गर्ने देखिएको छ । पद्मा मालेबाट पुनः एमालेमा आएर केन्द्रीय राजनीतिमा उदाएकी हुन् । उनी मालेमा हुँदा सुधीरकुमार पौडेल विद्यार्थीको रुपमा मालेमै थिए । सुधीरसँग पद्माको राम्रो सम्बन्ध छ ।
अखिलको राजनीतिबाट माथि आएका र पटक–पटक अवसरबाट वञ्चित गराइएकाले यो पटक पद्माले सुधीरलाई च्याप्ने सम्भावना रहेको स्याङ्जा एमाले वृत्तमा चर्चा छ । नारायणप्रसाद मरासिनी सांसद रहेकाले पनि सुधीरको सम्भावना बढी रहेको उनीहरुको तर्क गर्र्दै एक नेताले भने,‘ मरासिनी पहिल्यैदेखि अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भएकाले केही भन्न सकिँदैन ।’
अध्यक्षको दौडमा रहेका गैरे भने एमाले–माओवादी एकतापछि एमालेमा आएका हुन् । केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का खास मान्छे रहेकाले बादलले एउटा जिल्लामा आफूलाई साथ दिएकाको नेतृत्व खोजेमा गैरेले बाजी मार्नसक्ने सम्भावना पनि उत्तिकै रहेको एमाले स्रोतले बतायो । क्षेत्र नम्बर २ का अध्यक्ष रहेका खाँण पनि पटक–पटक पछि पारिएका नेता हुन् । उनको दावेदारी स्वभाविक भए पनि प्रतिष्पर्धा नै हुने अवस्थामा उनी उपाध्यक्षमा आउने सम्भावना बढी रहेको पनि ती नेताले बताए ।
उम्मेदवारी घोषणा गरेका मरासिनीले जनताको मायाले सांसद बनेकाले चुनावबाट आफू नै अध्यक्ष भएको जिकिर गरेका छन् भने माओवादी केन्द्रबाट आएका अध्यक्ष गैरेले अहिलेको अध्यक्ष नै सहमतिको अर्को अध्यक्ष बन्नुपर्नेमा जोड दिएका छन् । उनले स्याङ्जामा युवा नेतृत्व आवश्य रहेको र त्यो व्यक्ति आफै भएको जिकिर पनि गरे । हालका सचिव पौडेलले नियम पद्धतिको हिसाबले पनि आफु अध्यक्ष बन्ने बताउँदै पौडेलले आफूबाहेकको चित्तबुझ्दो व्यक्ति नभएको जिकिर गरे ।
पटक–पटक पार्टीको निर्णयलाई अध्यक्ष पद छाडेको बताउने खाँणले कुनै लाभको पदमा नरहेको व्यक्तिलाई अध्यक्ष बनाएर पार्टी बलियो बनाउनुपर्ने धारणा राखे । खाँण पद्माकै निर्वाचन क्षेत्रका हुन् । उनी बिच्किँदा पद्ममालाई समस्या पर्नसक्छ । तर,एमाले राजनीतिमा उदाउँदी पद्मालाई पार्टी अध्यक्ष ंंओलीले बाहेक अरुले रोक्ने सम्भावना कम छ ।
बादलको जोडमा ओलीले नै भने भनेचाहिँ स्याङ्जामा गैरे अध्यक्ष बन्ने सम्भावना बढ्दो छ । त्यस्तोमा पद्मालाई आफ्ना हितैषी सुधीरलाई मनाउनुबाहेक विकल्प रहने छैन । पद्ममा पछिल्लो समय उपमहासचिव पृथ्वीसुब्बा निकट छन् ।
गुरुङविरुद्धको समूहले स्याङ्जामा आफू हावी हुन अन्तिममा ‘गैरे कार्ड’ लगाउने सम्भावना अधिक छ । किनकि,१० औं महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा आफूलाई कमजोर बनाइएको हालका संगठन विभाग प्रमुख खगराज समूहको ठहर छ । अधिवेशनको लागि स्याङ्जामा ७५० जना प्रतिनिधि छानिएको सचिब सुधीर कुमार पौडेलले बताए ।