पोखरा, २८ पुस – नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् ।
बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार सय ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधानविपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका हुन् । कास्कीमा एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका हुन् । विजयी गुरुङ पृथ्वीसुब्बा प्यानल र बैरागी खगराज प्यानलबाट उम्मेदवारी दिएका हुन् ।
नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार ४ दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार बिहानबाट मतदान सुरु भएको थियो । अन्तिम नतिजा अनुसार उपाध्यक्षमा पनि पृथ्वीसुब्बा प्यानलकै तेजनारायण अधिकारी निर्वाचित भएका छन् । उनले ४ सय २१ मत ल्याउँदा खगराज प्यानलका प्रभा कोइरालाले ४ सय १३ मत ल्याएकी छन् ।
तर, अन्तिम मत परिणाम अनुसार सचिव र उपसचिवमा भने खगराज प्यानलले जित निकालेको छ । सचिवमा खगराज प्यानलकै बैनबहादुर क्षेत्रीले ४ सय ७५ मत ल्याउँदा अर्का प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३ सय ६४ मत ल्याएका छन् ।
त्यस्तै, उपसचिवमा पनि खगराज प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका हुन् ।
निर्वाचन समितिका संयोजक सुरेन्द्र थापाका अनुसार एमाले कास्की जिल्ला कमिटी अधिवेशनमा जिल्लाभरबाट ९१९ जना प्रतिनिधि सहभागी थिए भने निर्वाचनमा ८९५ जनाले मात्रै मतदान गरेका थिए ।
नेकपा एमालेले विधान महाधिवेशनमार्फत् पार्टीको अधिवेशनमा प्यानलसहित चुनावमा जान निषेध गरेको छ । केन्द्रदेखि स्थानीय कमिटीसम्मै नेतृत्व चयन गर्दा सर्वसम्मत नभए निर्वाचनमार्फत् नेतृत्व चयन गर्न पाउँछ ।
नेतृत्व चयन गर्दा अघिल्ला महाधिवेशनहरूमा प्यानल बनाएर चुनावमा जान विधानले रोक लगाएको छ । एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले पार्टी कमिटीहरूको नेतृत्व चयन गर्दा विधान र निर्वाचन आचारसंहिताले प्यानल बनाउन रोक लगाएको बताए ।
यसअघि एमालेबाट माधव नेपाल समूह बाहिरिएपछि अध्यक्ष केपी ओलीकै अगुवाइमा विधानमा यस्तो प्रावधान राखिएको दवाडीको भनाइ छ । ‘प्यानलसहित चुनाव हुँदा नेतृत्वमा पुग्न नसकेकाहरूले गुट बनाएर चलाउने भए,’ उनले भने, ‘त्यही भएर नै पार्टीले नेतृत्वका लागि उम्मेदवार बन्दा प्यानल बनाउन नपाउने व्यवस्था गरेको हो ।’