९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सिटामोलको कृत्रिम अभाव, उपभोक्तालाई सास्ती

छैन सिटामोल, फार्मेसीमा जाँदा रित्तो हात


जनमञ्च संवाददाता
  • ७ माघ २०७८ , शुक्रबार

  • छैन सिटामोल, फार्मेसीमा जाँदा रित्तो हात

    पोखरा, ७ माघ – पोखराको पृथ्वीचोकस्थित शुभेच्छा मेडिकलका नरहरि पौडेलको पसलमा पारासिटामोल पाइँदैन। पौडेले भने, ‘एक चक्की पनि छैन, आफन्तै आए पनि दिनसक्ने अवस्था छैन।’ होलसेलकहाँ २ सातादेखि अर्डर गरेको तर नपाएको उनको भनाइ छ।

    नयाँबजारको पूर्वमेडिकल पसलका तीर्थ अवस्थीले बल्लतल्ल १ बट्टा जोहो गरेको सुनाए। भने, ‘अहिले भएको १ बट्टा पनि महँगो हालेर ल्याएँ। पहिले १ सय रुपैयाँ नाफा हुनेमा अहिले ४० रुपैयाँमा झर्ने भयो।’ खाँटी सिटामोल कतै नपाएको सुनाउँदै सिटामोलको मात्रा भएका औषधि मात्रै रहेको उनले जनाए।

    सरकारी स्वास्थ्य संस्थाहरूमा भने सिटामोल पर्याप्त रहेको स्वास्थ्य अधिकारी बताउँछन्। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीमा १० लाख चक्की प्यारासिटामोल भण्डारण छ। केन्द्रीकी सूचना अधिकारी सुस्मिता शर्माले गण्डकीका पालिकाहरूलाई उपलब्ध गराएपछि त्यतिका मात्रामा भण्डारमा रहेको बताइन्।

    स्वास्थ्य कार्यालय कास्कीमा भण्डारण हेर्ने अधिकृत भीमप्रसाद उपाध्यायले कास्कीका सबै पालिकाहरूलाई सिटोमोल औषधि उपलब्ध गराएर पनि केही भण्डारणमा रहेको बताए।

    काठमाडौं बसन्तपुरकी रामवती महर्जन छेउछाउका औषधि पसलमा सिटामोल नपाएपछि टेकुस्थित प्रकाश फर्मामा पुगिन्। तर, त्यहाँ पनि उनले पाइएन्। भनिन्, ‘यताकै ठूलो फार्मेसी हो यो। अन्त नपाएका औषधि पनि पाइन्थ्यो।’

    फार्मेसी सञ्चालक प्रकाश देवकोटाका अनुसार दैनिक धेरै ग्राहकलाई खाली हात फर्काउनुपर्छ। ‘ओमिक्रोनको दर ह्वात्तै बढेपछि सिटामोलको माग निकै छ। १–२ प्याकेट ल्याएर बाँड्ने गरेका छौं’, उनले भने, ‘पछिल्लो एक महिनादेखि नै सिटामोल सटेज छ। होलसेलले पठाउँदै पठाउन्न।’

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको गेटमै रहेका शुक्र फार्मेसी, रेमिडियन फार्मेसी र शास्त्री फार्मेसीमा पनि सिटामोल पाइएन। एक युवती हतारहतार शास्त्री फार्मेसीमा पसिन्। उनले सिटामोल माग्दा व्यवसायीले डाक्टरको प्रेस्क्रिस्पन मागे। फार्मेसी सञ्चालकले दुई सातादेखि सिटामोल नआएको बताएन। ‘सयांै आउनुहुन्छ कहाँबाट पुर्‍याउनु ? डाक्टरको प्रेस्क्रिप्सन भएकालाई एक/एक पत्ता दिने गरेका छौं’, उनले भने।

    काठमाडौं उपत्यकाको प्रायः औषधि पसलमा सिटामोल पाइँदैन। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका कर्मचारी भोला सिग्देलले सर्वसाधारणले आत्तिएर धेरै सञ्चय गर्न थालेको बताए। ‘जताततै हारालुछ छ सिटामोलको’ उनले भने।

    सोविका मेडिकल हल महाराजगन्जकी प्रतिभा हाडाको फार्मेसीमा पनि सिटामोल नभएको दुई साता भयो। भनिन्, ‘भएर नदिन त कसलाई मन हुन्छ र ? कोही–कोही त सिटामोल मिसिएको अरू औषधि भए पनि दिनु न भन्छन्। के गर्ने ?’

    दिनमा २ सयभन्दा बढी ग्राहक सिटामोल खोज्न आउने गरेको चामुण्डा फार्मेसी सिनामंगलका माधवप्रसाद घिमिरेले बताए। ‘सिटामोल अभाव हुनुको कारण अहिलेको कोभिड हो। भाइरल ज्वरो साथै मौसम चेन्ज भएको कारण पनि कोभिड बढिरहेको छ’, उनले भने, ‘यसको सामान्य औषधि नै सिटामोल हो। धेरै जनालाई त सिटामोल खाएरै कोभिड निको हुन्छ। सिटामोल जुनसुकै अवस्थामा पनि चाहिन्छ। ज्यान दुखेदेखि लिएर घाँटी, टाउको, ढाड दुखेको बेला पनि प्रयोग गर्न सकिन्छ।’

    उनको फार्मेसीमा १० दिनदेखि सिटामोल छैन। भने, ‘उत्पादकले उत्पादन नै गरेका छैनन्। सिटामोलका लागि कच्चा पदार्थको अभावमा उत्पादन नभएको। सरकारको लापरबाही हो यो। नेपालमा लगभग १५ वटा कम्पनी छ सिटामोल उत्पादन गर्ने। कसैले पनि बनाएको छैन।’

    सुदर्शन क्लिनिक प्रालि दया फर्मा औषधि पसल बानेश्वरकी सञ्चालक रीता भट्टराईले भनिन्, ‘पहिले सिटामोल किन्न दुई चार जना आउँथे। अहिले १५ देखि २० जना आउँछन्। ज्वरो, रुघा खोकी धेरै भएका कारण पनि सिटामोलको अभाव छ। कम्पनीले डाइरेट होलसेलहरूलाई नदिएर आफू–आफूले लिन्छन्। थोरै मात्रामा मात्रै हामीलाई दिन्छन्।

    तीनकुनेस्थित गरिमा मेडिकल हलका विष्णु घर्तीका अनुसार होलसेलमा अर्डर गर्दा सधैं छैन भन्छ। ‘अस्तिका दिन १ वटा मगाको ५ पिस पठाएको थियो। पहिला मान्छेले एक पता लाने गर्थे। अहिले एउटा मान्छेले १० देखि १२ पतासम्मा लग्ने गरेका छन्’, उनले भने। फार्मेसीमा आउने अधिकांशले सिटामोल खोज्ने गरेको उनले बताए।

    मध्य बानेश्वरस्थित  श्रृस फार्मेसी सञ्चालक सिर्जन श्रेष्ठ केही दिनमा सहज हुने विश्वास गर्छन्। ‘बिहान ४ पत्ता आएको थियो। ५ मिनेटमा सकियो। थोरै आउँछ कसरी पुर्‍याउनु। होलसेलमै छैन रे सिटामोल’, उनले भने।

    भीमसेनगोलामा रहेको सेभेन टु सेभेन औषधि पसलमा पनि सिटामोल छैन। सञ्चालक धीरेन्द्र योगीले भने, ‘होलसेलबाट सिटामोल आएकै छैन। पुरानो स्टकले चलाइरहेका छौं। अहिले हरेक घरघरमा सिटामोल सञ्चय गर्ने भएकाले पनि अभाव देखिएको हो। एक जना बिरामीलाई एक पत्ता मात्रै दिएर पनि आजसम्म धान्यौ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend