१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
राष्ट्र बैंकले 'क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी नगर्नू'भनेको छ।

प्रहरीको हात लागे क्रिप्टोकरेन्सी कारोबारीहरू


युनिक श्रेष्ठ
  • ११ माघ २०७८ , मंगलबार

  • प्रहरीको हात लागे क्रिप्टोकरेन्सी कारोबारीहरू

    नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’ अवैध रहेको जनाउँदै यसको कारोबार गर्नेलाई कारबाहीको चेतावनी दिँदै आइतबार सूचना जारी गर्‍यो।

    क्रिप्टोकरेन्सी भनेको डिजिटल मुद्रा हो जसको मूल्यमा उतारचढाव आइरहन्छ। यो मुद्राको कारोबार संसारको कुनै निकायले नियमन गर्दैन। नेपाल लगायत धेरै देशमा यस्तो मुद्राको कारोबार गर्नु गैरकानुनी हो। तर छोटो अवधिमै उच्च प्रतिफल पाइने प्रलोभन देखाएर नेपालमा यस्तो कारोबार हुँदै आएको राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले जारी गरेको सूचनामा ‘उच्च प्रतिफलको प्रलोभनमा परेर क्रिप्टोकरेन्सी कारोबार तथा क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी नगर्नू’ भनेको छ।

    यो सूचनाले नेपालमा क्रिप्टोकरेन्सी अवैध भए पनि पछिल्लो समय कारोबार बढेको संकेत दिन्छ।

    ‘सर्वसाधारणलाई प्रलोभनमा पारेर पैसा बाहिरिन थालेपछि हामीले यस्तो सूचना जारी गरेका हौं,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘क्रिप्टोकरेन्सी कारोबारले सर्वसाधरणलाई जोखिम भयो भन्ने धेरै गुनासा आइरहेका थिए। त्यसैले यस्तो कारोबार गैरकानुनी हो भनेर सर्वसाधारणलाई सुसूचित गर्नु हाम्रो उद्देश्य हो।’

    उनका अनुसार पछिल्लो समय कतिपय व्यक्तिले राष्ट्र बैंकमा फोन नै गरेर क्रिप्टोकरेन्सी के हो र कारोबार गर्न मिल्छ कि मिल्दैन भनेर सोधपुछ गर्न थालेका थिए।

    वैदेशिक रोजगारमा गएकाहरूले पनि कम समयमै धेरै नाफा लिन सकिने भन्दै क्रिप्टोकरेन्सीमा लगानी गर्न सक्ने खतरा बढेको उनले बताए।

    ‘दसौं हजार नेपालीले विदेशमा बसेर काम गरिरहेका छन्। उनीहरूले नियमित रूपमा रेमिटेन्स पठाइरहेका छन्। भोलि उनीहरूले आर्थिक प्रलोभनमा परेर त्यही रकम क्रिप्टोकरेन्सीमा लगानी गरे र डुबे भने त्यसको घाटा सिंगो राष्ट्रले बेहोर्नुपर्छ,’ प्रवक्ता भट्टले भने, ‘अरूले यति दिनमा यति फाइदा गरे भनेर बुझ्दै नबुझी लगानी गरे उनीहरू पनि डुब्छन्, यता राज्यलाई र बैंकिङ प्रणालीलाई ठूलो घाटा हुन्छ।’

    राष्ट्र बैंकले जारी गरेको सूचना नेपालमा बसोबास गर्ने नेपालीहरूका लागि मात्र लक्षित छैन। नेपालमा बस्ने विदेशी नागरिक तथा विदेशमै बस्ने नेपालीहरूलाई समेत यस्तो कारोबारमा संलग्न नहुन आग्रह गरिएको छ।

    ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा यस्तो गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिए स्वदेशी पुँजी पलायन हुन्छ,’ सूचनामा भनिएको छ।

    क्रिप्टोकरेन्सी कारोबार गर्नेहरू बढ्दै गएको पछिल्लो समयमा भएका प्रहरी कारबाहीले पनि पुष्टि गर्छ। गत बिहीबार मात्रै क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।

    महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेका तीन जनामा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरीको इटहरी बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौं थापाथली बस्ने २७ वर्षीय दिपेनराज श्रेष्ठ छन्।

    उनीहरूमाथि बैंक तथा वित्तीय संस्था विनिमय ऐन २०७३ अन्तर्गत अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

    प्रहरी अनुसन्धानअनुसार पक्राउ परेका राजन भट्टराईले हालसम्म ९ सय ७५ जना व्यक्तिसँग १ हजार ९ सय २६ पटक क्रिप्टोकरेन्सी कारोबार गरिसकेका छन्।

    उनीमाथि कारोबार गरेको मात्र आरोप छैन। उनले अरूलाई पनि कारोबारमा संलग्न गराएको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार राजनले मंसिरदेखि पुससम्म २६ लाख रूपैयाँ बराबर क्रिप्टोकरेन्सी कारोबार गरेका थिए। उनले नै अन्य दुई जनालाई यसमा संलग्न गराएको प्रहरीको भनाइ छ।

    क्रिप्टोकरेन्सी कारोबार विभिन्न एपबाट हुन्छ। धेरैजसो बाइनेन्स, कोइनबेस, प्याक्सफुल, कोइनडिसिएक्स लगायत एपबाट हुने गरेको पाइएको छ। पक्राउ परेकाहरूले भने प्याक्सफुल एप प्रयोग गर्ने गरेको आफ्नो बयानमा बताएका छन्।

    ‘यी एपबाट कारोबार गर्न आफ्नो छुट्टै खाता खोल्नुपर्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘मानौं एक लाख रूपैयाँ बराबरको क्रिप्टोकरेन्सी छ। कसैले त्यो बेच्न चाह्यो भने सुरूमा एपमा गएर भेरिफाई हुनुपर्ने रहेछ। यसरी ऊ एउटा बिक्रेता भइसकेपछि कति मूल्यमा बेच्ने भनेर अफर गर्न मिल्छ। बेच्न चाहनेले चलनचल्तीको भाउभन्दा बढाएर वा घटाएर पनि मूल्य प्रस्ताव गर्न सक्छ।’

    आफूले बेच्न चाहेको मूल्य प्रस्ताव गरिसकेपछि कोही किन्न तयार भयो भने ऊ बिक्रेतासँग डिजिटल कुराकानी अर्थात् ‘च्याट’ गर्न आउँछ। त्यही च्याटमार्फत् उनीहरूबीच पैसाको मोलमोलाइ हुन्छ। त्यसपछि लेनदेन कुन माध्यमबाट गर्ने भन्ने टुंगो लगाइने ती प्रहरीले बताए।

    उनीहरूले क्रिप्टोकरेन्सीको कारोबार डेढ वर्ष अघिदेखि सुरू गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    ‘पहिलो लकडाउनपछि उनीहरूले यसको कारोबार सुरू गरेको देखिन्छ। उनीहरू स्नातक र प्लस-टू सकेर बसेका विद्यार्थी हुन्,’ ती प्रहरीले भने, ‘यसको कारोबार गर्ने तरिका चाहिँ साथीहरूबाट र युट्युब वा इन्टरनेट हेरेर सिकेको भनेका छन्।’

    पक्राउ परेका व्यक्तिले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी हो भन्ने थाहा नभएको पनि बयान दिएका छन्।

    अब प्रश्न उठ्छ, प्रहरीले यी तीन जना व्यक्ति क्रिप्टोकरेन्सी कारोबारमा संलग्न छन् भन्ने सुइँको कहाँबाट पायो ?

    प्रहरीले कुनै विशेष सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरेको होइन।

    भयो के भने, छ महिनाअघि सिरहाका एक व्यक्तिलाई विदेश पठाइदिने भन्दै ह्वाट्सएपमा मेसेज आयो। मेसेज पठाउनेले आफू अमेरिकन क्रूजको प्रबन्धक भनेर चिनाएको थियो।

    यसरी अमेरिकन क्रूजमा जागिर खाने प्रस्ताव आएपछि सिरहाका ती व्यक्ति आकर्षित भए। महिनाकै ५-६ लाख रूपैयाँ तलब पाइने प्रस्तावले उनलाई झनै लोभ्यायो। उनी विश्वस्त भएर पैसा दिन तयार भए।

    ह्वाट्सएपमा सन्देश पठाउनेले विभिन्न बैंक खाता नम्बर दिएर पैसा जम्मा गर्न भनेको थियो। ती व्यक्तिले पनि दायाँबायाँ केही नसोची भनेजति रकम जम्मा गरिदिए।

    ‘यसरी २० लाख रूपैयाँसम्म पैसा दिइसकेपछि बल्ल उनले आफू ठगिएको थाहा पाए,’ ती प्रहरीले भने, ‘त्यसपछि उनी हामीकहाँ रिपोर्ट गर्न आए।’

    महाशाखामा रिपोर्ट परेपछि प्रहरीले अनुसन्धान अघि बढायो। पीडितलाई पैसा जम्मा गर्न लगाइएका विभिन्न बैंक खाता नम्बरका विवरण प्रहरीले माग गर्‍यो।

    उनलाई विभिन्न बैंकका १० वटा खातामा पैसा हाल्न लगाइएको रहेछ। सबै विवरण हेर्दा पैसा माग्नेहरू क्रिप्टोकरेन्सीका कारोबारी भएको खुलेको अनुसन्धानमा संलग्न प्रहरीले बताए।

    ‘बैंक खाताका मालिकहरूसँग हामीले सम्पर्क गर्दा उनीहरू क्रिप्टोकरेन्सीका कारोबारी भएको खुल्यो। उनीहरूले विदेशमा रहेका अर्का कारोबारीको खातामा पैसा पठाएर क्रिप्टोकरेन्सी किन्दा रहेछन्,’ ती प्रहरीले भने, ‘यो घटनाबाट हामीले नेपालमा क्रिप्टोकरेन्सी कारोबार भइरहेको रहेछ भन्ने थाहा पायौं। तर विदेशमा बसेर ठगी गर्नेहरू को हुन् भन्ने पत्ता लगाउन चाहिँ मुश्किल छ।’

    ठगी भएको पुष्टि भए पनि र ठग्नेहरू क्रिप्टोकरेन्सीका कारोबारी भएको थाहा भए पनि पहिचान अझै खुलेको छैन।

    यो घटनाले प्रहरी अनुसन्धानलाई भने अर्कै मोडमा लगिदियो।

    ‘हामीले त्यसपछि नेपालमा कहाँबाट क्रिप्टोकरेन्सी कारोबार हुन्छ त भनेर अनुसन्धान सुरू गर्‍यौं। त्यसो गर्दा धेरैजसो कारोबार प्याक्सफुल एपबाट हुने देखियो,’ उनले भने, ‘त्यस एपमाथि निगरानी र अनुसन्धान गर्दा यी तीन जना समातिएका हुन्।’

    अहिलेसम्मको अनुसन्धानबाट नेपालमै रहेर वा विदेशमा रहेर धेरै नेपालीले यो डिजिटल मुद्राको अवैध कारोबार गरिरहेको प्रहरीले निष्कर्ष निकालेको छ। तर यो कारोबार गोप्य तरिकाले हुने भएकाले कति नेपालीले कति रकम यसमा लगानी गरेका छन् भन्ने तथ्यांक प्रहरीसँग छैन।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतो क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी मुद्दा धेरै नपरे पनि त्यसप्रति आकर्षण बढेको बताउँछन्।

    ‘केसकै रूपमा धेरै आइसकेको छैन तर एउटा ट्रेन्ड चाहिँ देखिएको छ। चार-पाँचवटा केसहरूमा पहिले सिआइबीले अनुसन्धान पनि गरिसकेको छ,’ उनले भने, ‘हाम्रो बैंकिङ सिस्टममा नआई कारोबार भयो भने त्यसलाई अवैध मानिन्छ। नेपालीहरू विदेशतिर गएर पनि यसमा लागेको भन्ने समाचार आएका छन्। औपचारिक वा अनौपचारिक रूपमा कारोबार गरेको भन्ने सूचनाहरू पनि हामीले पाइरहेका छौं।’

    यस्ता घटना अपराध भइसकेपछि मात्र बाहिरिने हुँदा पहिल्यै नियन्त्रण गर्न गाह्रो हुने उनले बताए।

    उनका अनुसार यसअघि क्रिप्टोकरेन्सीका पाँचवटा मुद्दा परेकामा एउटामा मात्रै सूचनाका आधारमा कारबाही गरेको उनले जानकारी दिए। अरू भने अर्कै मुद्दामा अनुसन्धान गर्दा खुलेका हुन्।

    ‘यो कारोबार गोप्य हुने भएकाले सूचनाहरू त्यति सहज रूपमा आउँदैनन्। कारोबार गरिएको पैसा कहाँ प्रयोग भएको छ भन्ने पनि खुल्दैन। विगतमा पनि एउटा मुद्दामा मात्रै हामीले सूचना आएर अपरेसन गरेका हौं,’ उनले भने।

    अर्को एउटा घटनाले पनि नेपालमा क्रिप्टोकरेन्सी कारोबार बढ्दै गएको संकेत दिन्छ।

    गत मंसिर अन्तिममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग हुने ३० वटा डिभाइस बरामद गरेको थियो। भन्सारले यसबारे अनुसन्धान गर्न डिभाइसको एउटा नमूना सिआइबीलाई पठाएको थियो।

    ‘सिआइबीले अनुसन्धान गर्दा ती डिभाइस प्रयोग भइनसकेको पत्ता लगायो,’ प्रमुख भन्सार प्रशासक महेश भट्टराईले भने, ‘सिआइबीले त्यसलाई नष्ट गरिदिन भनेर पत्र पठाएको छ।’

    उनका अनुसार बरामद भएका ३० वटा डिभाइस पेनड्राइभ आकारका थिए। अस्ट्रेलिया बस्ने मान्छेले ती डिभाइस अनलाइन सपिङ गरेर हङकङबाट नेपाल पठाएका थिए। नेपालमा त्यसको कारोबार अवैध भएको हुँदा भन्सारले सिआइबीलाई पठाएको थियो।

    ‘त्यो डिभाइस हालेपछि मात्र कम्प्युटरमा क्रिप्टोकरेन्सी कारोबार हुने रहेछ,’ उनले भने, ‘सिआइबीले लेखेको पत्रअनुसार अब त्यसलाई नष्ट गर्न बाँकी छ।’

    सरकारले क्रिप्टोकरेन्सी कारोबार नियमन गर्न कुनै कानुन वा ऐन बनाएको छैन। अवैध कारोबार नियमन गर्न ऐनको खाँचो रहेको सम्बन्धित अधिकारीहरू बताउँछन्।

    अहिलेलाई विदेशी विनिमय नियमन गर्ने ऐन २०१९ को दफा १७ अनुसार कारबाही गरिने राष्ट्र बैंकका प्रवक्ता भट्टले बताएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend