२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

साइत जुराएर सन्तान जन्माउदै नेपाली दम्पती


जनमञ्च संवाददाता
  • १२ माघ २०७८ , बुधबार

  • साइत जुराएर सन्तान जन्माउदै नेपाली दम्पती

    काठमाडौं, १२ माघ – बच्चा जन्माउन पनि शुभ दिन, समय र तिथि हेर्ने चलन नेपाली समाजमा बढेको छ । साइत पारेर बच्चा जन्माउन सामान्य अवस्थामा सम्भव हुँदैन । तर, ज्योतिष अथवा धार्मिक गुरुहरुले सल्लाह दिएको समयमा शल्यक्रिया गरेर जन्माउने चलन बढेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु बताउँछन् ।

    ज्योतिषले राम्रो भनेको दिन, समय र तिथिमा जन्मिएको बच्चा स्वस्थ्य र वैभवशाली हुने विश्वासमा आफूले हेराएको साइतमा शल्यक्रिया गरिदिन आग्रह गर्ने जोडी बढेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चन्दा कार्की बताउँछिन् ।

    ‘आफ्नो धर्म र विश्वास अनुसार साइत हेराएर शल्यक्रिया गरिमाग्दा हामीलाई समस्या हुँदैन,’ उनी भन्छिन्, ‘गर्भ भने शल्यक्रिया गर्नैपर्ने अवस्थाको हुनुपर्छ ।’

    डा. कार्कीका अनुसार हिजोआज गर्भवतीहरु बच्चा जन्माउन अघिको व्यथा, जन्माउँदाको पीडा र जोखिम मोल्न नचाहने भएकाले शल्यक्रिया गर्नेको संख्या त्यसै पनि बढेको छ । यसले गर्दा शल्यक्रिया गर्नैपर्ने अवस्थाभन्दा बाहेक गर्भवतीको इच्छाको कारण शल्यक्रिया बढेको उनको अनुभव छ ।

    ‘हिजोआज शल्यक्रिया गरेर जन्माउने योजना भएका वा शल्यक्रिया गर्नैपर्ने गर्भवतीहरु साइत हेराएर बच्चा जन्माउन चाहन्न्,’ डा. कार्की भन्छिन्, ‘त्यसअनुसार समय मिलाएर शल्यक्रिया गर्न हामीलाई समस्या छैन ।’

    उनका अनुसार शल्यक्रिया गर्नुपर्ने विभिन्न अवस्था हुन्छ । आमाको प्रेसर, सुगर बढेको, बच्चाको घाँटीमा नाल बेरिएको, आमा र बच्चा दुवै जोखिममा रहेको लगायत अवस्थामा शल्यक्रिया आवश्यक हुन्छ । तर, आजभोलि धेरैको पूर्वयोजना नै शल्यक्रिया गरेर बच्चा जन्माउने हुने गरेको उनी बताउँछिन् ।

    अर्का प्रसूति तथा स्त्रीरोग विशेषज्ञ कुमकुम झा १०-१२ घण्टा व्यथा सहेर बच्चा जन्माउन नचाहने अथवा आफू र बच्चालाई कत्ति पनि जोखिम नहोस् भन्नेहरुको रोजाइ नै शल्यक्रिया हुने गरेको बताउँछिन् । ‘शल्यक्रिया गरेर बच्चा जन्माउने मात्रै होइन, ज्योतिष तथा गुरुले भनेको साइत पारेर बच्चा जन्माउन चाहनेहरु हुन्छन्,’ डा. झा भन्छिन् ।

    नर्मल रुपमा जन्माउन सकिन्छ भनेर सुझाव दिँदा आमा र बच्चाको कुशलताको ग्यारेन्टी हुनुपर्ने, बच्चा जन्माउने आमाको निर्णयलाई सम्मान गर्नुपर्ने जस्ता तर्क गरेर शल्यक्रिया गर्नैपर्ने अवस्था सिर्जना गरिने उनको अनुभव छ । उनी भन्छिन्, ‘अहिलेका मध्यम, उच्चमध्यम र उच्च आर्थिक वर्गका पुस्ता जोखिम शून्य अवस्था चाहन्छन् ।’

    अर्का प्रसूति तथा स्त्रीरोग विशेषज्ञ बालकृष्ण झा ज्योतिष वा गुरुको सल्लाह लिएर आएका दम्पतीहरुलाई भरसक सामान्य सुत्केरी गराउन परामर्श दिने गरेको बताउँछन् । तर, निर्णय नै गरेर आइसकेकाहरुले चिकित्सकको परामर्श अनुसार गर्ने सम्भावना कमै हुने उनी बताउँछन् ।

    शिक्षित र सम्पन्न वर्गका परिवारका जोडीहरु शल्यक्रियाबाट बच्चा जन्माउन चाहने डा. झाको अनुभव छ । व्यक्तिको धार्मिक विश्वासलाई शिक्षाले फरक नपारेको यसले देखाउने उनी बताउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend