काठमाडौं, १३ माघ – देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका भुभागमा हुस्सु कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा बिहीबार दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने उल्लेख छ।
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ।
शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
शनिबार प्रदेश नं १ बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।