९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
१५ सदस्यसहित माओवादी दोस्रो, १० सदस्यसहित कांग्रेस तेस्रो र ८ सदस्यसहित एकीकृत समाजवादी चौथो शक्ति

३१ बाट १७ पुग्दा पनि राष्ट्रिय सभामा एमाले पहिलो शक्ति


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • ३१ बाट १७ पुग्दा पनि राष्ट्रिय सभामा एमाले पहिलो शक्ति

    पोखरा, १३ माघ – भदौयता नेकपा एमालेले राष्ट्रिय सभामा १४ सिट गुमाएको छ । लगातार सदस्य गुमाए पनि एमाले राष्ट्रिय सभामा १७ सदस्यसहित अझै पहिलो शक्तिमा कायमै रहनेछ ।

    गत ८ भदौसम्म राष्ट्रिय सभामा एमालेका ३१ सांसद थिए । तर, ९ भदौमा एमाले विभाजन हुँदा सात सांसद माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा समाहित भए ।

    अहिले राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका २४ जना सांसद छन् । तर, आगामी २० फागुनबाट एमालेका सात सांसद घट्नेछन् । बुधबार १९ सिटका लागि भएको निर्वाचनमा एमालेले सात सिट गुमाएको छ ।

    निर्वाचनमा एमालेले एक सिट मात्र जितेको छ, जब कि उसका आठ सांसद चारवर्षे कार्यकाल सकिएर २० फागुनबाट बिदा हुँदै छन् । ०७४ मा भएको निर्वाचनपछि राष्ट्रिय सभामा एमालेका सांसद २७ थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा त्यसवेला एमाले सबैभन्दा ठूलो शक्ति बनेको थियो ।

    ३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद बिदा भए ।

    दुईवर्षे कार्यकाल सकिनेमध्ये एकजना मनोनीत थिए, बाँकी १८ सिटका लागि ०७६ माघमा निर्वाचन हुँदा नेकपालाई फाइदा र कांग्रेसलाई धक्का भयो । निर्वाचनमा नेकपाले १६ सिट जित्यो ।

    अर्कातिर, एमालेका आठ सांसद दुईवर्षे कार्यकाल पूरा गरी बिदा भए । त्यसपछि पनि राष्ट्रिय सभामा नेकपाका ४७ सांसद थिए ।

    २३ फागुन ०७७ मा सर्वोच्च अदालतको आदेशले एमाले र माओवादीबीचको एकता भंग भयो । एमाले र माओवादी पार्टी एकतापूर्वकै अवस्थामा फर्किए । त्यसवेला राष्ट्रिय सभामा अध्यक्षसहित एमालेका ३१ र उपाध्यक्षसहित माओवादीका १६ सांसद थिए ।

    २० फागुनपछि राष्ट्रिय सभामा १५ सांसदसहित माओवादी दोस्रो शक्ति हुनेछ । यसबाहेक १० सांसदसहित कांग्रेस तेस्रो र आठ सांसदसहित एकीकृत समाजवादी राष्ट्रिय सभाको चौथो शक्ति रहनेछ । यसबाहेक राष्ट्रिय सभामा जसपाका तीन, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक, स्वतन्त्र एक र मनोनीत तीनजना रहनेछन् ।

    मनोनीतमध्ये एक रामनारायण बिडारीको कार्यकाल २० फागुनबाट सकिँदै छ । उनी माओवादीनिकट छन् । उनको ठाउँमा कसलाई पठाउने भन्नेबारे गठबन्धनले केही बताएको छैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend